महोत्तरीमा ४८७ किलो गाँजासहित दुई पक्राउ, ट्रक र घरबाट ठूलो परिमाणमा बरामद

महोत्तरी । महोत्तरी प्रहरीले करिब ४८७ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूबाट प्राप्त सूचनाका आधारमा गरिएको थप अनुसन्धानमा ठूलो परिमाणमा गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका–६ भकुण्डेका २१ वर्षीय विपस नेगी र सोही गाउँपालिका–१ क्यूरेनीका २४ वर्षीय साधुराम थिङ रहेका छन्।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक पञ्चलाल गोलेका अनुसार असार २० गते राति सशस्त्र प्रहरी बल नेपाल नं. ९ गण हेक्वाको टोलीले महोत्तरी गाउँपालिका–१ भटौलियामा ना ३ ख ६५९२ नम्बरको ट्रक जाँच गर्ने क्रममा प्लास्टिकमा प्याक गरेर राखिएको ४० किलो ३६० ग्राम गाँजा फेला पारेको थियो। त्यसपछि ट्रक, गाँजा तथा पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाइएको थियो।

प्रारम्भिक बयान र अनुसन्धानबाट प्राप्त सूचनाका आधारमा प्रहरीले आइतबार बिहान महोत्तरी गाउँपालिका–४ रानी रतवाडास्थित एक घरमा खानतलासी गरेको थियो। त्यस क्रममा उक्त घरबाट थप ४४६ किलो ७४५ ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

दुवै स्थानबाट बरामद गाँजाको कुल परिमाण ४८७ किलो १०५ ग्राम पुगेको प्रहरीको भनाइ छ। बरामद गाँजा, प्रयोग गरिएको ट्रक र पक्राउ परेका दुवै जनाविरुद्ध लागूऔषधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

प्रहरीले यस घटनामा अन्य व्यक्तिको संलग्नता, गाँजाको स्रोत तथा गन्तव्यबारे पनि अनुसन्धान जारी राखेको जनाएको छ।

तपाईको प्रतिक्रिया