मनसुनजन्य विपद् जोखिम न्यूनीकरणका लागि सरकारी तयारी तीव्र

आगामी मनसुनलाई ध्यानमा राख्दै विपद् जोखिम न्यूनीकरण तथा सम्भावित क्षति नियन्त्रणका लागि सरकारी निकाय, सुरक्षा संस्था र सम्बन्धित सरोकारवाला सक्रिय भएका छन्। बाढी, पहिरो, डुबान तथा चट्याङजस्ता मनसुनजन्य विपद्का घटनालाई मध्यनजर गर्दै पूर्वतयारीका काम तीव्र पारिएको हो।

नेपालको कमजोर भू–संरचना, अव्यवस्थित बस्ती विस्तार, वन विनाश तथा जलवायु परिवर्तनका कारण प्रत्येक वर्ष मनसुनका समयमा ठूलो जनधनको क्षति हुने गरेको छ। विशेषगरी पहाडी र हिमाली क्षेत्रमा पहिरो तथा तराई क्षेत्रमा बाढी र डुबानको जोखिम बढी रहने गरेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो एक दशकमा मनसुनजन्य विपद्का कारण तीन हजारभन्दा बढी व्यक्तिले ज्यान गुमाएका छन्। सयौं व्यक्ति बेपत्ता हुनुका साथै हजारौं नागरिक घाइते र प्रभावित भएका तथ्यांक सार्वजनिक गरिएको छ।

प्राधिकरणले यस वर्षका लागि ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना’ परिमार्जन गरी कार्यान्वयनको तयारी गरेको जनाएको छ। जोखिमयुक्त क्षेत्रको पहिचान, पूर्वाधारको संवेदनशीलता तथा जलवायु परिवर्तनका असरलाई ध्यानमा राखेर योजना तयार गरिएको अधिकारीहरूको भनाइ छ।

यता नेपाल प्रहरीले पनि सम्भावित विपद्सँग जुध्न देशभर सुरक्षा सतर्कता बढाएको जनाएको छ। प्रहरीका अनुसार जोखिम क्षेत्रको निगरानी, उद्धार सामग्री व्यवस्थापन, जनशक्ति परिचालन तथा नागरिक सचेतनासम्बन्धी कार्यक्रम सञ्चालन भइरहेका छन्।

प्रहरीले बाढी, पहिरो तथा अन्य विपद्का बेला उद्धार कार्य प्रभावकारी बनाउन विशेष अभ्याससमेत सम्पन्न गरेको छ। साथै, सम्भावित जोखिम क्षेत्रको पहिचान गरी स्थानीय तहसँग समन्वय बढाइएको जनाइएको छ।

तपाईको प्रतिक्रिया