पूर्वमन्त्री दीपक खड्का थप ७ दिन हिरासतमा, सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान जारी

काठमाडौं । पूर्वमन्त्री दीपक खड्कालाई थप सात दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ। उनीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपमा अनुसन्धान भइरहेको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले खड्काविरुद्धको मुद्दामा छानबिन अघि बढाइरहेको छ। यसअघि पनि अदालतले उनलाई सात दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो।

पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री रहेका खड्कालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB)ले आइतबार बिहान नियन्त्रणमा लिएको थियो। गत भदौमा भएको प्रदर्शनका क्रममा उनको घरमा तोडफोड तथा आगजनी भएको थियो।

उक्त घटनापछि सामाजिक सञ्जालमा जलेका नेपाली तथा विदेशी नोट देखिएका भिडियोहरू सार्वजनिक भएका थिए। सोही विषयमा अनुसन्धान गर्दै विभागले घटनास्थलबाट जलेका नोटका अवशेष र खरानी समेत संकलन गरी थप अध्ययन गरिरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया