नेप्से परिसूचकमा निरन्तर वृद्धि, सबै उपसूचक सकारात्मक

काठमाडौं — साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारको परिसूचक नेप्से ६.५१ अंकले उक्लिँदै २७७६.९० विन्दुमा पुगेको छ। यसअघि सोमबार नेप्से ९.१६ अंकले वृद्धि भई २७७०.३९ विन्दुमा बन्द भएको थियो।

नेप्से परिसूचक बढेपनि आजको कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही घटेको देखिएको छ। मंगलबार ३१६ स्क्रिप्टको १ करोड ३१ लाख २४ हजार ३१० कित्ता सेयर खरिदबिक्री हुँदा कूल कारोबार रकम ५ अर्ब ६३ करोड ६५ लाख ४८ हजार रुपैयाँ नाघेको छ। सोमबार भने कारोबार रकम ६ अर्ब १७ करोड रुपैयाँ थियो।

यद्यपि बजार परिसूचक बढेपनि आज कुनै पनि कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा पुग्न सकेन। कारोबार रकमको आधारमा युनाइटेड मोदी हाइड्रोपावर अग्रस्थानमा रह्यो, जसको सेयर कारोबार ३१ करोड रुपैयाँ पुगेको छ।

अन्य प्रमुख कारोबार हुने कम्पनीहरूमा हिमालयन डिस्टिलरी (२८ करोड), राधी विद्युत (२० करोड), बुटवल पावर र माउन्टेन इनर्जी (दुवैको १७–१७ करोड) रहेका छन्।

आज कारोबार भएका स्टकहरूमध्ये १४२ कम्पनीका सेयर मूल्यमा वृद्धि हुँदा १०७ कम्पनीका सेयर घटेका छन्। उल्लेखनीय रूपमा, आज कारोबार भएका १३४ वटै उपसूचकहरू सकारात्मक देखिएका छन्, जसले समग्र बजारमा सुधारको संकेत गरेको छ।

तपाईको प्रतिक्रिया