देउवासँगको छलफलपछि प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेलगत्तै बालुवाटारमा साँझ ५ बजे मन्त्रिपरिषद्को बैठक आह्वान गरिएको हो।

यसअघि सोमबार साँझका लागि तय गरिएको बैठक प्रधानमन्त्री ओली अस्वस्थ भएपछि स्थगित गरिएको थियो। प्रधानमन्त्रीको सचिवालयका अनुसार आजको बैठकमा सरकारका नियमित कार्यहरू, नियुक्ति, बढुवा तथा नीतिगत विषयमा छलफल हुने बताइएको छ।

बैठकमा नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिसम्बन्धी निर्णय पनि हुनसक्ने स्रोतले जनाएको छ। सिफारिस समितिको निर्णय आएमा आजै नयाँ गभर्नरको घोषणा हुने सम्भावना रहेको बताइएको छ।

आज बिहान प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखकको उपस्थितिमा भेटवार्ता भएको थियो। स्रोतका अनुसार भेटमा राष्ट्र बैंकको गभर्नर नियुक्ति, आउँदो जेठ १५ गते ल्याइने बजेट, संसदको प्रभावकारी सञ्चालन तथा समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो।

गत चैत २४ गतेदेखि नेपाल राष्ट्र बैंकको गभर्नरको पद रिक्त छ।

तपाईको प्रतिक्रिया