नजिकका विद्यालय गाभेर होस्टेलको व्यवस्था गर्नुपर्छ : पूर्वअर्थमन्त्री डा. महत

काठमाडौं : नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले छरिएर रहेका सरकारी विद्यालयलाई गाभी (मर्ज गरी) होस्टेलको व्यवस्था गर्नुपर्ने सुझाव दिएका छन्।

आइतबार (असार १ गते) प्रतिनिधिसभाको बैठकमा बोल्दै डा. महतले विद्यार्थीको संख्या घट्दै गएको अवस्थामा छेउछाउका विद्यालय गाभ्नेबाहेक विकल्प नरहेको बताए। “विद्यार्थी घटिरहेका छन्, नजिकका विद्यालयहरू मर्ज गर्नुको विकल्प छैन,” उनले भने, “अब सरकारले होस्टेलको व्यवस्था गरेर विद्यार्थीलाई खान र बस्ने सहुलियत दिनुपर्छ।”

पूर्वअर्थमन्त्री महतले आफैंले तयार पारेको तीन करोड रुपैयाँभन्दा कम लागत भएका योजनामा बजेट नहाल्ने कार्यविधिको कार्यान्वयन प्रयास भएकोमा धन्यवाद दिए। स्रोत सुनिश्चित नभएका चार हजारभन्दा बढी आयोजना कटौती हुनु सकारात्मक पहल भएको उनको भनाइ थियो।

उनले बजेट खर्च परिमाणमुखी (आउटपुट बेस्ड) हुनु आवश्यक रहेको उल्लेख गरे। “यो बजेटले अपेक्षित सहयोग र ऋण प्राप्त गर्न सक्ने देखिँदैन, राजस्वको लक्ष्य पनि घटाइएको छ। यस्तो अवस्थामा सरकारलाई लक्ष्य पूरा गर्न ठोस गृहकार्य आवश्यक पर्छ,” उनले स्पष्ट पारे।

सामाजिक सुरक्षा भत्ता समयसापेक्ष बनाउने प्रयास गरिएको बताउँदै उनले यसलाई सकारात्मक रूपमा हेर्नुपर्ने धारणा राखे।

तपाईको प्रतिक्रिया