दिल्लीमा आगलागी: ३० जना भन्दा बढीको मृत्यु

भारतीय राजधानी दिल्लीस्थित एउटा भवनमा आगो लाग्दा कम्तीमा ३४ जनाको मृत्यु भएको छ।

लोक नायक अस्पतालकी डा. रितु सक्सेनाले बताए अनुसार अहिलेसम्म मृतकको सङ्ख्या ३४ पुगेको छ।

दिल्लीको पुरानो बजार क्षेत्रमा रहेको भवनमा बिहान सबेरै आगो लागेको हो।

उक्त अस्पतालमा कैयौँ घाइतेको उपचार भइरहेको छ। आगो नियन्त्रणमा लिनका निम्ति २५ वटा दमकल घटनास्थलमा परिचालन गरिएका छन्।

उनले आगो लागेको भवनमा कागजहरू रहेकाले धुँवाका कारण मानिसहरूलाई बचाउन समस्या भएको बताएका थिए।

घटनास्थलमा परिचालित एक अधिकारीले आगो नियन्त्रणमा लिइएको जानकारी दिएका छन्।

आगो लागेको बहुतल्ले भवनभित्र दर्जनौँ सङ्ख्यामा कामदारहरू सुतिरहेका थिए।

घटनाप्रति प्रधानमन्त्री नरेन्द्र मोदी र दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले दुख व्यक्त गरेका छन्।

दिल्ली दमकल विभागका प्रमुख अतुल गर्गले ५० जना बढी मानिसलाई उद्धार गरेर उनीहरूको ज्यान जोगाइएको जानकारी दिए।

आगो नियन्त्रणमा

प्रमुख गर्गका अनुसार उद्धार कार्य जारी छ। उनले भने, “साँघुरो गल्ली भएकाले दमकल र एम्बुलेन्स भित्र जान सकिरहेका छैनन्। त्यसैले उद्धारकर्ताहरूले घाइतेलाई बोकेर बाहिर ल्याइरहेका छन्।” आगलागीको कारणबारे अनुसन्धान भइरहेको बताइएको छ। बीबीसी

तपाईको प्रतिक्रिया