दिगो विकासका लागि समन्वय र सहकार्य अपरिहार्य : मन्त्री गुरुङ

काठमाडौं — सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले देशको समृद्धि र विकासका लागि स्पष्ट दृष्टिकोणका साथ दिगो सोच, समन्वय र सहकार्य अनिवार्य रहेको बताएका छन्।

राष्ट्रिय समाचार समिति (रासस) द्वारा गणतन्त्र दिवसको अवसरमा “पर्वतीय पर्यटन: हाम्रो शान, हाम्रो पहिचान” विषयमा आयोजित फोटो प्रदर्शनी उद्घाटन गर्दै उनले वर्तमान प्रणाली, नियम, र कानुन झन्झटिलो भएका कारण विकास, सुशासन र समृद्धिमा प्रभाव पारिरहेको बताए।

सरकारको प्रवक्तासमेत रहेका मन्त्री गुरुङले समन्वयात्मक रूपमा छिटो, छरितो र प्रभावकारी सेवा प्रवाह गर्न पुराना नियम–कानुनहरू सुधार गर्न आवश्यक रहेको धारणा राखे।

सूचना प्रविधिमा बजेटको आवश्यकता
कृषि, पर्यटनलगायतका क्षेत्रको समृद्धिमा सूचना प्रविधिको भूमिका महत्वपूर्ण भए पनि बजेट न्यून हुने अवस्था दोहोरिरहेकाले राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयले विशेष ध्यान दिनुपर्नेमा उनले जोड दिए। “पर्यटन हाम्रो समृद्धिको मुख्य आधार हो, तर त्यसअनुसार योजनाहरू बन्न सकेका छैनन्,” उनले भने।

हिमाल र लुम्बिनी प्राथमिकतामा
नेपालमा पर्यटनको प्रमुख आकर्षण हिमाल र गौतम बुद्धको जन्मस्थल लुम्बिनी रहेको उल्लेख गर्दै मन्त्री गुरुङले यी सम्पदाको संरक्षण र प्रवर्द्धनमा सरकारले विशेष प्राथमिकता दिनुपर्ने बताए।

कम बोल्ने, बढी काम गर्ने संस्कृतिको आवश्यकता
“अब भाषण होइन, व्यवहारमा देखिने काम गर्नुपर्छ,” भन्दै मन्त्री गुरुङले कम बोल्ने र बढी काम गर्ने संस्कृतिको थालनी गर्नुपर्ने आवश्यकता औंल्याए।

पूर्व पर्यटन मन्त्रीसमेत रहेका गुरुङले पर्यटन प्रवर्द्धनका लागि सूचना प्रविधिको समुचित उपयोग गर्न र सम्बन्धित मन्त्रालयहरूबीच समन्वय र सहकार्य गर्नुपर्नेमा पनि विशेष जोड दिए।

तपाईको प्रतिक्रिया