थाइल्यान्डसँग ७८ रनले पराजित भयो नेपाल

काठमाडौं, जेठ ६ । आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–थ्री चरणको अन्तिम खेलमा नेपाल थाइल्यान्डसँग ७८ रनले पराजित भएको छ।

थाइल्यान्डको टेर्डथाइ क्रिकेट मैदानमा सोमबार भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको थाइल्यान्डले निर्धारित २० ओभरमा दुई विकेटको क्षतिमा १५८ रन बनायो। जवाफमा नेपालले २० ओभरमा ९ विकेट गुमाएर मात्र ८० रन बनाउन सक्यो।

नेपालका लागि कविता कुँवरले सर्वाधिक २४ रन बनाइन् भने रजमति ऐरीले अविजित २० रन र रुबिना क्षेत्रीले १२ रनको योगदान दिइन्। बाँकी खेलाडीहरू दोहोरो अंकमा रन जोड्न असफल भए।

थाइल्यान्डका लागि ओन्निचा कामचोम्फुले उत्कृष्ट प्रदर्शन गर्दै चार विकेट लिइन्। थिपाचा पुथावोङले तीन विकेट तथा सुलेपोर्न लाओमीले एक विकेट हात पारिन्।

यसअघि ब्याटिङ गरेको थाइल्यान्डका लागि नन्नापत कोन्चारोएनकाईले २८ बलमा आठ चौकाको सहयोगमा अविजित ५० रन बनाइन्। नटाया बुचथमले पनि ४२ बलमा पाँच चौकासहित ५० रन जोडे। अपिसरा सुवान्चोराथीले २९ रन र नथ्थकन चन्थमले अविजित १५ रन बनाइन्।

नेपालका लागि रजमति ऐरी र मनिषा उपाध्यायले समान रूपमा एक–एक विकेट लिइन्।

यद्यपि, नेपाल र थाइल्यान्ड दुबै टोली यसअघि नै आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट चरणमा स्थान सुरक्षित गरिसकेका छन्। सुपर–थ्रीको पहिलो खेलमै दुबैले युएईलाई पराजित गर्दै ग्लोबल छनोटमा प्रवेश गरेका थिए।

तपाईको प्रतिक्रिया