तीन दिनसम्म देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आजदेखि मंगलबारसम्म देशका विभिन्न प्रदेशमा भारीदेखि अत्यधिक वर्षा हुन सक्ने पूर्वानुमान सार्वजनिक गरेको छ। विभागले विशेषगरी पहाडी तथा तराई क्षेत्रका केही स्थानमा उल्लेखनीय वर्षा हुने सम्भावना रहेको जनाएको छ।

विभागका अनुसार आइतबार कोशी प्रदेशका पहाडी र तराई क्षेत्रका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ।

यस्तै, सोमबार कोशी प्रदेशका केही पहाडी तथा तराई क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा हुने अनुमान गरिएको छ। त्यसैगरी मधेश, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने पूर्वानुमान छ।

मंगलबार पनि कोशी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ। साथै मधेश र गण्डकी प्रदेशका एक-दुई क्षेत्रमा समेत भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले सुझाव दिएको छ।

विभागले लगातारको वर्षाका कारण नदी तथा खोलामा पानीको सतह बढ्न सक्ने, बाढी, पहिरो र डुबानको जोखिम रहने भएकाले प्रभावित हुन सक्ने क्षेत्रका बासिन्दालाई आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया