काठमान्डु गोर्खाजको टोलीमा जोडिए अनुभवशाली अलराउन्डर सन्नी पटेल

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो सिजनका लागि काठमान्डु गोर्खाजले आफ्नो छैटौँ विदेशी खेलाडीका रूपमा अलराउन्डर सन्नी पटेललाई अनुबन्धन गरेको छ।

नेपालको फ्रेन्चाइज क्रिकेटमा निकै परिचित नाम बनाइसकेका पटेलले यसअघि २०१९ मा सीवाईसी अत्तरियाबाट धनगढी प्रिमियर लिग (डीपीएल) को तेस्रो संस्करण र चितवन राइनोजबाट पोखरा प्रिमियर लिग (पीपीएल) को दोस्रो संस्करणको उपाधि जितेका थिए। डीपीएलमा उनी ‘प्लेयर अफ द फाइनल’ र ‘प्लेयर अफ द सिरिज’ दुबै उपाधि जित्न सफल भएका थिए।

भारतको गुजरातबाट रणजी ट्रफी खेलेका ३८ वर्षे पटेल पछिल्लो समय अमेरिकामा खेल्दै आएका छन्। उनले हालै अमेरिकाको माइनर लिग क्रिकेटमा एटलान्टा फायरलाई उपाधि दिलाउन महत्त्वपूर्ण योगदान दिएका थिए। सो क्रममा उनले १० खेलमा १६ विकेट लिएका थिए।

संजोगवश, उक्त विजेता टोलीका प्रशिक्षक मोन्टी देसाई नै हाल काठमान्डु गोर्खाजका मुख्य प्रशिक्षक हुन्। यससँगै गोर्खाजले विदेशी खेलाडीको अधिकतम कोटा पूरा गरेको छ।

काठमान्डु गोर्खाजले यसअघि दक्षिण अफ्रिकाका विकेटकिपर–ब्याटर रिकार्डो भास्को–नेसेलोस, नामिबियाका कप्तान जेरहार्ड इरसमस, अमेरिकी ब्याटर मिलिन्द कुमार, र इंग्ल्यान्डका बेन चार्ल्सवर्थ तथा जोहन सिम्पसनलाई अनुबन्धन गरिसकेको छ। इरसमसबाहेक सबै खेलाडी पहिलो पटक गोर्खाजको जर्सीमा मैदान उत्रिनेछन्।

तपाईको प्रतिक्रिया