काठमाडौंमा वैशाख १ देखि रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं महानगरपालिकाले आगामी वैशाख १ गतेदेखि रात्रिकालीन सार्वजनिक बस सेवा सञ्चालनमा ल्याउने तयारी गरेको छ। महानगरका अनुसार बेलुका ८ बजेदेखि राति ११ बजेसम्म बस सञ्चालन गरिनेछ।

यो सेवा दुई प्रमुख रुटमा सञ्चालन हुनेछ। पहिलो रुट लगनखेल बाट सुरु भई पाटन अस्पताल, अल्का, नर्भिक, प्रसूति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल र गंगालाल हृदय केन्द्र हुँदै बुढानीलकण्ठ सम्म जानेछ। यो उत्तर–दक्षिण दिशा समेट्ने करिब १६ किलोमिटरको मार्ग हो।

दोस्रो रुट थानकोट देखि सुरु भई सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन र तीनकुने हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सम्म पुग्नेछ। यो पूर्व–पश्चिम दिशा समेट्ने करिब २० किलोमिटर लामो मार्ग हो।

महानगरले साझा यातायात सँग सहकार्य गर्दै यी दुई रुटमा चार वटा विद्युतीय बस सञ्चालन गर्ने जनाएको छ।

कार्यवाहक मेयर सुनिता डंगोल का अनुसार बेलुका सार्वजनिक यातायातको अभावका कारण यात्रुहरू महँगो भाडा तिर्न बाध्य हुने अवस्था अन्त्य गर्न यो सेवा सुरु गर्न लागिएको हो। उनले विशेषगरी महिला, विद्यार्थी तथा सर्वसाधारणलाई सुरक्षित र सुलभ यात्रा उपलब्ध गराउने उद्देश्य रहेको उल्लेख गरिन्।

सेवालाई सुरक्षित र व्यवस्थित बनाउन बसमा सीसीटिभी जडान गरिनेछ भने नगर प्रहरीले सुरक्षा व्यवस्था सम्हाल्नेछ। साथै, प्रत्येक २० मिनेटमा बस उपलब्ध हुने व्यवस्था मिलाइने महानगरले जनाएको छ।

तपाईको प्रतिक्रिया