कंगो–युगान्डामा इबोला संक्रमण बढेपछि डब्लूएचओ द्वारा अन्तर्राष्ट्रिय स्वास्थ्य आपतकाल घोषणा

काठमाडौं ।विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कंगो लोकतान्त्रिक गणराज्य र युगान्डामा फैलिरहेको इबोला संक्रमणलाई अन्तर्राष्ट्रिय सरोकारको सार्वजनिक स्वास्थ्य आपतकालका रूपमा घोषणा गरेको छ।

डब्लूएचओका अनुसार, हाल फैलिएको संक्रमण बुन्दिबुग्यो प्रजातिको इबोला भाइरससँग सम्बन्धित रहेको प्रारम्भिक रूपमा पुष्टि भएको छ। यस प्रकारको भाइरसका लागि हालसम्म स्वीकृत खोप वा विशेष उपचार उपलब्ध नभएकाले स्वास्थ्य जोखिम बढ्न सक्ने चिन्ता व्यक्त गरिएको छ।

संगठनले सीमापार संक्रमण देखिनु, केही सामूहिक मृत्युका घटनाको कारण स्पष्ट नभएको अवस्था तथा संक्रमणको वास्तविक फैलावटबारे पर्याप्त जानकारी नहुनुका कारण उच्च सतर्कता अपनाइएको जनाएको छ।

यो घोषणा युगान्डाको राजधानी काम्पाला तथा कंगोको राजधानी किन्शासामा इबोला संक्रमण पुष्टि भएपछि गरिएको हो। यससँगै संक्रमण सुरुमा देखिएको दुर्गम खानी क्षेत्रभन्दा बाहिर पनि फैलिएको संकेत प्राप्त भएको बताइएको छ।

डब्लूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले हालको अवस्थालाई गम्भीर सार्वजनिक स्वास्थ्य चुनौतीका रूपमा वर्णन गरेका छन्। उनले प्रभावित क्षेत्रमा सुरक्षा चुनौती, सीमित स्वास्थ्य पहुँच तथा संक्रमणको वास्तविक अवस्था आधिकारिक तथ्यांकभन्दा फरक हुन सक्ने सम्भावनालाई समेत उल्लेख गरेका छन्।

अफ्रिका सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार, मे १६ सम्म कंगोको इटुरी प्रान्तमा ८ वटा प्रयोगशालाबाट पुष्टि भएका संक्रमण, ३३६ वटा शंकास्पद संक्रमित तथा ८७ वटा शंकास्पद मृत्युका विवरण प्राप्त भएका छन्। युगान्डाले पनि कंगोबाट आएका यात्रुहरूमध्ये दुई जनामा संक्रमण पुष्टि भएको जनाएको छ, जसमा एक जनाको मृत्यु भएको बताइएको छ।

स्वास्थ्य निकायहरूले संक्रमण पहिचान हुनुअघि नै केही समयसम्म समुदायमा फैलिएको हुन सक्ने अनुमान गरेका छन्। प्रारम्भिक परीक्षणका क्रममा विभिन्न क्षेत्रबाट संकलित नमुनामध्ये केहीमा इबोला संक्रमण पुष्टि भएको र थप शंकास्पद बिरामी तथा मृत्युका घटनाबारे अनुसन्धान जारी रहेको जनाइएको छ।

तपाईको प्रतिक्रिया