एन्फाले प्रतियोगिताबाट नाम फिर्ता लिएपछि एएफसीको जरिवाना

काठमाडौं — अखिल नेपाल फुटबल संघ (एन्फा)लाई एसियाली फुटबल महासंघ (एएफसी)ले कारबाही गरेको छ। एएफसीको अनुशासन तथा आचारसंहिता समितिले गत अगस्ट २१ मा बसेको बैठकपछि एन्फामाथि कारबाही गरिएको विवरण आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको हो।

कारबाहीको कारण, एन्फाले सन् २०२६ को एएफसी फुटसल एसियन कप छनोट प्रतियोगिताबाट नियमभन्दा ढिलो गरी नाम फिर्ता लिएको जनाइएको छ। नियमअनुसार, नाम फिर्ता लिनुपर्ने अन्तिम समय खेल सुरु हुनुभन्दा १०६ दिन अगाडि हो। तर, एन्फाले तोकिएको समयसीमा नमान्दा कारबाही गरिएको हो।

समितिका अनुसार, एन्फाले नियम उल्लङ्घन भएको स्वीकार गरेको छ। स्वीकृत गल्तीपछि एन्फालाई १० हजार अमेरिकी डलर जरिवाना गरिएको छ। साथै, एन्फा अर्को संस्करणको फुटसल एसियन कपमा सहभागी हुन नपाउने निर्णय गरिएको छ।

जरिवाना भुक्तानीको लागि सेप्टेम्बर २० सम्मको समय दिइएको छ।

यसबाहेक, एएफसी फुटसल एसियन कपको छनोट खेल २० सेप्टेम्बरदेखि सुरु हुँदैछ। यसमा ३१ राष्ट्र आठ समूहमा विभाजित भएर प्रतिस्पर्धा गर्दैछन्, जसबाट आयोजक इन्डोनेसियाबाहेक १५ टोली अन्तिम चरणमा छनोट हुनेछन्। आठ समूहका विजेता र उपविजेतामध्ये एक उपविजेता भने अयोग्य हुनेछ।

तपाईको प्रतिक्रिया