एक पार्टीलाई बहुमत आउन गाह्रो भए पनि संविधानले सबैलाई मिलाएको छ : देउवा

काठमाडौं — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको संविधानलाई समावेशी र सबै समुदायलाई समेट्ने उत्कृष्ट दस्तावेजका रूपमा उल्लेख गरेका छन्। नेपाल मुस्लिम संघले नयाँ वर्ष २०८२ को अवसरमा आयोजना गरेको इद मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै देउवाले संविधानले सबै समुदायको प्रतिनिधित्व सुनिश्चित गरेको बताए।

उनका अनुसार अहिलेको राज्य व्यवस्था समावेशी र समानुपातिक प्रतिनिधित्वमा आधारित छ, जसमा मुस्लिम समुदायसहित सबै वर्गको सहभागिता सुनिश्चित गरिएको छ।

देउवाले भने, “यो संविधानले सबैलाई समेट्ने व्यवस्था गरेको छ। निर्वाचन प्रणालीका कारण कुनै एक दललाई स्पष्ट बहुमत आउन कठिन भए पनि, सबैलाई मिलाएर अघि बढ्न सकिने वातावरण संविधानले तयार गरेको छ।”

उनले संविधानले आदिवासी जनजाति, महिला, मुस्लिम लगायतका समुदायको राजनीतिक सहभागिता सुनिश्चित गरेकाले यसलाई राम्रो संविधानको रूपमा लिनुपर्ने बताए।

त्यस अवसरमा देउवाले मुस्लिम समुदाय नेपाली समाजमा मेलमिलाप, सहिष्णुता र परिश्रमशीलताका लागि चिनिएको उल्लेख गरे।

“नेपालगञ्ज, बारा–रौतहट वा सुनसरी–विराटनगर जहाँका मुस्लिम समुदाय भए पनि उनीहरूले अन्य समुदायसँग समन्वयमा जीवन बिताइरहेका छन्,” देउवाले भने, “मिहिनेत र संयम यो समुदायको पहिचान हो।”

तपाईको प्रतिक्रिया