संविधान समय र परिस्थितिअनुसार संशोधन गर्न सकिन्छ: मन्त्री राई

काठमाडौं — रक्षामन्त्री मानवीर राईले संविधान समय र परिस्थिति अनुसार संशोधन गर्न सकिने बताएका छन्।

सोमबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री राईले यस्तो जानकारी गराएका हुन्।

गैरआवासीय नेपाली र ब्रिटिस गोरखामा भर्ती भएका व्यक्तिहरूको समस्या समाधानमा सरकारले गम्भीरता देखाएको उनले बताए।

संविधानका कतिपय जटिल पक्षहरूलाई आवश्यकतानुसार संशोधन गर्दै जानुपर्ने विषय भएको पनि उनले उल्लेख गरे।

मन्त्री राईले नेपालको संविधान अपरिवर्तनीय नभएको स्पष्ट पार्दै भने, “संविधान अकाट्य वस्तु होइन। समय र परिस्थिति अनुसार संशोधन गर्न सकिन्छ। केही सीमाना हामीले गुमाउनु परेको भए पनि हामी स्वतन्त्र देश हौँ र स्वतन्त्र दिवस मनाउनु पर्छ भन्ने हाम्रो गौरव हो।”

उनले थपे, “समस्या समाधान गर्दै अघि बढौँ। हाम्रो संविधानमा कतिपय जटिलताहरू संशोधन आवश्यक हुन सक्छ। तर यो संविधान अपरिवर्तनीय भनेको छैन।”

मन्त्री राईले नेपालले केही सीमाना गुमाएको भए पनि यो स्वतन्त्र देश रहेको र नेपालको इतिहास तथा वीरतालाई गर्व गर्नुपर्ने बताए।

तपाईको प्रतिक्रिया