इरानसँगको द्वन्द्व चाँडै अन्त्य हुने संकेत, ट्रम्प सकारात्मक

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी द्वन्द्व अब धेरै लामो समय नलम्बिने संकेत दिएका छन्। उनले आगामी दुईदेखि तीन हप्ताभित्र युद्ध अन्त्य हुन सक्ने बताएका हुन्।

ह्वाइट हाउसमा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले अमेरिका चाँडै सैन्य संलग्नताबाट बाहिरिन सक्ने बताएका छन्। उनका अनुसार, युद्ध अन्त्यका लागि अनिवार्य रूपमा औपचारिक कूटनीतिक सम्झौता आवश्यक नपर्न सक्छ।

अमेरिकाले यसअघि इजरायलसँगको सहकार्यमा इरानविरुद्ध सैन्य कारबाही अघि बढाएको थियो, जसलाई ‘अपरेसन एपिक फ्युरी’ नाम दिइएको छ। उक्त अभियानको उद्देश्य इरानको आणविक कार्यक्रमलाई नियन्त्रणमा ल्याउने रहेको अमेरिकी पक्षको भनाइ छ।

ट्रम्पले इरानको शासन परिवर्तन अमेरिका लक्ष्य नभएको स्पष्ट पारेका छन्। उनका अनुसार मुख्य उद्देश्य इरानलाई आणविक हतियार विकासबाट रोक्नु हो, र सो लक्ष्यतर्फ प्रगति भइरहेको दाबी उनले गरेका छन्।

युद्ध लम्बिँदै जाँदा अन्तर्राष्ट्रिय स्तरमा कूटनीतिक पहल पनि बढिरहेको छ। विभिन्न देशहरूले दुवै पक्षबीच संवाद गराउन प्रयास गरिरहेका छन्। अमेरिकी अधिकारीहरूले समेत वार्ता प्रक्रिया जारी रहेको र आवश्यक परे थप कदम चाल्न तयार रहेको जनाएका छन्।

इरान पक्षले भने अनौपचारिक रूपमा सन्देश आदान–प्रदान भइरहेको स्वीकार गरेको छ, तर त्यसलाई औपचारिक वार्ताको रूपमा लिन नमिल्ने जनाएको छ।

युद्ध पाँचौं हप्तामा प्रवेश गरिरहँदा आगामी केही दिनको घटनाक्रम निर्णायक हुन सक्ने विश्लेषण भइरहेका छन्।

तपाईको प्रतिक्रिया