इन्डोनेसियामा ७.४ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी जारी

इन्डोनेसियामा बिहीबार बिहान शक्तिशाली ७.४ म्याग्निच्युड भूकम्प गएको छ, भूकम्पपछि सम्बन्धित निकायहरूले तटीय क्षेत्रमा सुनामीको सम्भावित जोखिमबारे चेतावनी दिएका छन्।

अमेरिकी भूगर्भ सर्वेक्षण (USGS) का अनुसार प्रारम्भिक रूपमा भूकम्पको तीव्रता ७.८ म्याग्निच्युड रहेको अनुमान गरिएको थियो। स्थानीय समयअनुसार बिहान ६:४८ बजे मुलुक्का समुद्र आसपास भूकम्प गएको जनाइएको छ।

भूकम्पको केन्द्रविन्दु टर्नेट सहरबाट करिब १२० किलोमिटर टाढा रहेको बताइएको छ। यो सहर सानो भए पनि घना बस्ती भएको क्षेत्र मानिन्छ, जहाँ दुई लाखभन्दा बढी मानिस बसोबास गर्छन्।

अन्तर्राष्ट्रिय सुनामी चेतावनी प्रणालीले भूकम्पपछि केन्द्रविन्दुबाट करिब एक हजार किलोमिटरको क्षेत्रमा प्रभाव पर्न सक्ने सम्भावना औंल्याएको छ। यसले विशेषगरी इन्डोनेसिया, फिलिपिन्स र मलेसिया का तटीय भूभागमा समुद्री छालको जोखिम हुन सक्ने जनाएको छ।

तपाईको प्रतिक्रिया