अब लोडसेडिङ हुने दिन फर्किंदैन : प्राधिकरण प्रमुख शाक्यको स्पष्टिकरण

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले अब नेपालमा पुनः लोडसेडिङ नहुने दाबी गरेका छन्।

बिहीबार साँझ देशभर विद्युत् आपूर्ति अवरुद्ध भएको विषयमा स्पष्टीकरण दिन आयोजित पत्रकार सम्मेलनमा उनले यो कुरा बताएका हुन्। साँझ ६:३८ बजेदेखि देशका अधिकांश क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको थियो।

प्राधिकरणका अनुसार, ढल्केवर आसपासको क्षेत्रमा आएको हावाहुरीका कारण ढल्केवर–मुजफ्फरपुर ४०० केभी डबल सर्किट प्रसारण लाइन दुवैतर्फ समस्या आएको र त्यसकै कारण विद्युत् आपूर्ति रोकिएको हो।

बेलुका अत्यधिक माग भए पनि उत्पादन तुलनात्मक रूपमा कम भएकाले प्रणाली अस्थिर भई लाइन बारम्बार ट्रिप हुन पुगेको र त्यसले आपूर्ति नियमित गर्न कठिन भएको प्राधिकरणको भनाइ छ।

शाक्यले भने, “सामाजिक सञ्जालमा लोडसेडिङ फेरि सुरु भयो भन्ने प्रचार भ्रमपूर्ण हो। ढल्केवर क्षेत्रमा रुख ढल्दा प्रसारण लाइनमा समस्या आएको थियो, जसलाई करिब दुई घण्टामा समाधान गरिएको थियो।

उनका अनुसार, बेलुका ८:८ बजे ढल्केवर–मुजफ्फरपुर ४०० केभी लाइनको समस्या समाधान भई सर्किट–२ सञ्चालनमा आएपछि आपूर्ति बिस्तारै सहज भएको हो। तर, ढल्केवर पश्चिमको १३२ केभीसहित अन्य १३२, ३३ र ११ केभी लाइनहरूमा पनि रुख ढल्दा पोल र कन्डक्टरमा क्षति पुगेकाले केही क्षेत्रमा आपूर्ति ढिलो हुन पुगेको जानकारी उनले दिए।

शाक्यले भावी दिनमा यस्ता समस्या नदोहोरिऊन् भनेर तत्कालीन, मध्यम र दीर्घकालीन समाधान योजना बनाइने बताएका छन्।

उनले जोड दिए, “अब इन्भर्टर र मैनबत्तीको फोटो सामाजिक सञ्जालमा हाल्नुपर्ने अवस्था आउनेछैन। लोडसेडिङको दिन फेरि आउँदैन।

तपाईको प्रतिक्रिया