भिनिसियसमाथि जातीय अपमान गर्ने चार समर्थकलाई मड्रिड अदालतको जेल सजाय


काठमाडौं ।स्पेनको एक अदालतले रियल मड्रिडका खेलाडी भिनिसियस जुनियरमाथि जातीय तथा अपमानजनक व्यवहार गर्ने चार फुटबल समर्थकलाई दोषी ठहर गर्दै जेल सजाय सुनाएको छ।

ला लिगाले सोमबार सार्वजनिक गरेको विज्ञप्तिमा उनीहरूलाई रंगभेदी व्यवहारमा संलग्न रहेको पुष्टि गर्दै अदालतको फैसलाबारे जानकारी दिएको हो।

यी चार समर्थकले “मड्रिड हेट्स रियाल” लेखिएको ब्यानरसहित भिनिसियसको पुतला जलाउने गतिविधिमा संलग्न रहेको प्रमाणित भएको अदालतको ठहर छ। यो घटना सन् २०२३ जनवरीमा कोपा डेल रे अन्तर्गत एटलेटिको मड्रिड र रियल मड्रिडबीचको खेलअघि एक पुलमा घटेको थियो।

अदालतले तीमध्ये एक समर्थकलाई १५ महिनाको जेल सजाय सुनाएको छ भने बाँकी तीनजनालाई समान रूपमा ७–७ महिनाको जेल सजाय तोकेको छ। साथै, सबैलाई स्पेनमा आधिकारिक फुटबल खेलहरू हेर्न रंगशालामा प्रवेशमा प्रतिबन्ध लगाइएको छ।

सजायपछि ती समर्थकहरूले भिनिसियस, रियल मड्रिड क्लब, ला लिगा र स्पेनिस फुटबल महासंघ (RFEF)सँग लिखित रूपमा माफी मागेका छन्।

साथै, अदालतले आर्थिक जरिवाना पनि तोकेको छ। एक जनालाई १,०८४ युरो र बाँकी तीनजनालाई जनही ७२० युरो जरिवाना तोकिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

तपाईको प्रतिक्रिया