फिफा क्लब विश्वकप २०२५ : अन्तिम–१६ मा स्थान बनाएका १४ टोली सार्वजनिक

काठमाडौं, असार १२ – अमेरिकी विभिन्न शहरमा जारी फिफा क्लब विश्वकप–२०२५ मा हालसम्म अन्तिम–१६ चरणमा स्थान बनाउने १४ टोली टुंगो लागेको छ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले यसपटक क्लब विश्वकपलाई फरक ढंगले, ३२ टोलीको सहभागितामा आयोजना गर्दैछ। यसअघि महादेशीय विजेता टोलीबीच मात्र हुने प्रतियोगिता अबदेखि प्रत्येक चार वर्षमा हुने भएको छ।

प्रतियोगितामा सहभागी ३२ टोलीलाई चार–चार टोलीका आठ समूहमा विभाजन गरिएको छ। हालसम्म समूह ‘ए’देखि ‘एफ’सम्मका खेल सकिँदा समूह विजेता र उपविजेता टुंगो लागेका छन्।

समूहगत चरणमा अन्तिम–१६ पुग्ने टिमहरू:

  • समूह ‘ए’: ब्राजिलको पाल्मेरास र अमेरिका (एमएलएस) को इन्टर मियामी
  • समूह ‘बी’: फ्रान्सको पेरिस सेन्ट जर्मेन (पीएसजी) र ब्राजिलको बोटाफोगो
  • समूह ‘सी’: पोर्चुगलको बेन्फिका र जर्मनीको बायर्न म्युनिख
  • समूह ‘डी’: इङ्ग्ल्यान्डको चेल्सी र ब्राजिलको फ्लेमिंगो
  • समूह ‘ई’: इटालीको इन्टर मिलान र मेक्सिकोको मोन्टेरी
  • समूह ‘एफ’: जर्मनीको बोरुसिया डर्टमन्ड र ब्राजिलको फ्लुमिनेन्से

यी समूहका आधारमा अन्तिम–१६ चरणका प्रतिस्पर्धा यस प्रकार हुनेछन्:

  • पाल्मेरास बनाम बोटाफोगो
  • पीएसजी बनाम इन्टर मियामी
  • बेन्फिका बनाम चेल्सी
  • बायर्न म्युनिख बनाम फ्लेमिंगो
  • इन्टर मिलान बनाम फ्लुमिनेन्से
  • मोन्टेरी बनाम बोरुसिया डर्टमन्ड

समूह ‘जी’को प्रतिस्पर्धा बाँकी
समूह ‘जी’बाट युभेन्ट्सम्यानचेस्टर सिटीले अन्तिम–१६ मा स्थान सुरक्षित गरिसकेका छन्। यद्यपि दुवै टोलीले समान ६ अंक जोडेकाले विजेता र उपविजेता टुंगो लाग्न बाँकी छ। यी दुईबीचको खेल नेपाली समयअनुसार राति १२:४५ बजे हुनेछ।

समूह ‘एच’को प्रतिस्पर्धा अझै जारी
समूह ‘एच’मा रियाल मड्रिड, आरबी साल्जबर्गअल–हिलालबीच कडा प्रतिस्पर्धा छ। दुई खेलबाट चार अंक जोडेको रियाल मड्रिड अग्रस्थानमा छ। समान अंक भए पनि गोल अन्तरका आधारमा साल्जबर्ग दोस्रो र तीन अंक जोडेको अल–हिलाल तेस्रो स्थानमा छन्।

शुक्रबार बिहान ६:४५ बजे हुने समूह ‘एच’का अन्तिम दुई खेलपछि अन्तिम–१६ मा पुग्ने बाँकी दुई टोली टुंगो लाग्नेछ।

  • अल–हिलाल बनाम पाचुका
  • रियाल मड्रिड बनाम आरबी साल्जबर्ग

तपाईको प्रतिक्रिया