नेपाली महिला टोलीले  भारत र इरानसँग मैत्रीपूर्ण फुटबल खेल्ने

काठमाडौं, । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले भारत र इरानसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार नेपालले आगामी कात्तिक ७ गते इरान र कात्तिक १० गते भारतसँग प्रतिस्पर्धा गर्ने तालिका तय भएको छ।

यसअघि भारतविरुद्धको खेल सिक्किममा तय भए पनि हाल सो खेल सिलोङमा सारिएको एन्फाले जनाएको छ।

फिफा अन्तर्राष्ट्रिय खेल समय (FIFA International Match Window) अन्तर्गत आयोजना हुने यस खेलमा सहभागी हुने तीन टोलीमध्ये भारत फिफा वरियतामा ६३औं, इरान ७०औं, र नेपाल ८९औं स्थानमा छन्।

मैत्रीपूर्ण खेलको तयारीस्वरूप एन्फाले ३५ जना महिला खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइसकेको छ। नेपाली महिला टोलीका नवनियुक्त मुख्य प्रशिक्षक नवीन न्यौपानेको नेतृत्वमा टोली हाल प्रशिक्षणमा व्यस्त रहेको एन्फाले जनाएको छ।

यी खेलहरू नेपालका लागि नयाँ प्रशिक्षकको नेतृत्वमा अन्तर्राष्ट्रिय स्तरमा आफुलाई स्थापित गर्ने अवसर हुने बताइएको छ।

तपाईको प्रतिक्रिया