नेपालले यूएईलाई दियो २४० रनको विजयी लक्ष्य

काठमाडौं — आईसीसी विश्वकप लिग–२ अन्तर्गत जारी त्रिकोणात्मक श्रृंखलाको अन्तिम खेलमा नेपालले यूएईलाई २४० रनको विजयी लक्ष्य दिएको छ।

दुबईस्थित आइसीसी एकेडेमी मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २३९ रन बनायो।

नेपालका भीम सार्कीले उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक ४८ रन योगदान दिए। उनले ६८ बलमा ४ चौका प्रहार गरे। ओपनर कुशल भुर्तेल १.५ ओभरमा २ रनमा विकेटकिपरको हातबाट क्याच आउट भएका थिए। त्यसपछि भीम सार्की र आसिफ शेखले दोस्रो विकेटका लागि ७४ रनको साझेदारी गर्दै टोलीलाई स्थिरता दिएका थिए। आसिफ ३४ रनमा रन आउट भएका थिए।

कप्तान रोहित पौडेल २ रनमा आउट भएपछि नेपालले ब्याटिङको लय गुमाएको थियो। पाँचौँ विकेटका लागि दीपेन्द्र सिंह ऐरी र आरिफ शेखबीच ४९ रनको साझेदारी भयो। ऐरीले ३७ रन बनाए भने आरिफ ३० रनमा आउट भए।

कुशल मल्लले मध्यक्रममा सन्तुलित ब्याटिङ गर्दै ४५ रनको योगदान दिए। उनले नवौं विकेटका लागि सन्दीप लामिछानेसँग ४२ रनको साझेदारी गरेका थिए। कुशल अन्तिम ओभरको पाँचौं बलमा बोल्ड भए। अन्तिम बलमा ललित राजवंशीले चौका प्रहार गर्दै अविजित रहँदा सन्दीप पनि १५ रनमा नटआउट रहे।

यूएईका बलरमध्ये जुनैद सिद्धकी, ध्रुव परासर र मुहम्मद जवादुल्लाहले समान २–२ विकेट लिएका छन् भने जाहिद अलिले १ विकेट लिए।

नेपाल यसअघि श्रृंखलाका लगातार तीन खेलमा पराजित भएको थियो — पहिलो खेलमा अमेरिकासँग १०६ रनले, दोस्रोमा यूएईसँग ५ विकेटले र तेस्रो खेलमा पुनः अमेरिकासँग ४ विकेटले हार बेहोरेको थियो।

तपाईको प्रतिक्रिया