नन्दन यादवले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा गरे डेब्यु

काठमाडौँ ।नेपाली राष्ट्रिय क्रिकेट टोलीका मध्यम गतिका बलर नन्दन यादवले आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा एकदिवसीय अन्तर्राष्ट्रिय (ODI) क्रिकेटमा डेब्यु गरेका छन्। यसै खेलमा टोलीका सहायक प्रशिक्षक ज्ञानेन्द्र मल्लले उनलाई डेब्यु क्याप प्रदान गरेका थिए।

नेपाली टोलीबाट ODI मा डेब्यु गर्ने नन्दन यादव ४२औँ खेलाडी बनेका छन्। यसअघि सञ्चालन भइसकेका तीन खेलमा उनले खेल्ने अवसर पाउन सकेका थिएनन्। तर तीव्र गतिका बलर सोमपाल कामी घाइते भएपछि उनी खेलमा उत्रने मौका पाएका हुन्।

नेपाल क्रिकेट सङ्घ (क्यान) का प्रवक्ता छुम्बी लामाका अनुसार, सोमपाल कामी र गुल्सन झा दुबै अभ्यासका क्रममा घाइते भएका छन्। सोमपालको दायाँ हातमा चोट लागेको छ भने गुल्सनको घुँडामा चोट लागेको बताइएको छ।

यो शृङ्खलामा नेपालले अहिलेसम्म तीन खेल खेलिसकेको छ भने नेदरल्यान्ड्सविरुद्धको यो खेल चौथो हो। नन्दन यादवको डेब्युले नेपाली टोलीमा नयाँ उत्साह भएको टोली प्रबन्धकले बताएका छन्।

तपाईको प्रतिक्रिया