डोपिङ परीक्षणमा असफल भएपछि विश्व कीर्तिमानधारी रुथ चेपन्गेटिच निलम्बनमा

काठमाडौं। विश्व कीर्तिमानधारी केन्याकी धाविका रुथ चेपन्गेटिचलाई प्रतिबन्धित शक्तिबर्धक औषधि सेवन गरेको आरोपमा निलम्बन गरिएको छ।

उनको शरीरमा डाययुरेटिक हाइड्रोक्लोरोथियाजाइड (एचसीटीजेड)को अंश फेला परेको समाचारमा जनाइएको छ। गत मार्च १४ मा डोपिङ परीक्षणका लागि संकलित नमूनामा उक्त औषधिको उपस्थिति पुष्टि भएको हो।

३० वर्षीया चेपन्गेटिचले सन् २०२४ को अक्टोबरमा सिकागो म्याराथनमा महिलातर्फ नयाँ विश्व कीर्तिमान बनाएकी थिइन्। उनले दुई घण्टा ९ मिनेट ५६ सेकेन्डमा दौड पूरा गर्दै पूर्वधाविका इथियोपियन टिग्स्ट एसेफाको कीर्तिमान तोडेकी थिइन्।

वर्ल्ड एन्टी डोपिङ एजेन्सी (वाडा)ले एचसीटीजेडलाई प्रतिबन्धित औषधिहरूको सूचीमा राखेको छ। चेपन्गेटिचले भने आफूले जानकारि बिना उक्त औषधि सेवन गरेको दाबी गरेकी छिन्।

तपाईको प्रतिक्रिया