जोखिम र मौन मृत्युमा धकेलिँदै सरसफाइकर्मी


गोविन्द खड्का ।शहर बिहानै सफा भएको हुन्छ । फोहोरका थुप्रा हराएका हुन्छन्, ढलका मुख खुलेका हुन्छन्, सडकहरू स्वच्छ देखिन्छन् । तर, यो ‘शहरको श्रृङ्गार’ गर्ने मानिसहरूको कथा भने प्रायः शहरको कोलाहलभन्दा टाढा, चुपचाप निकै कष्टकर बाँचिरहेको हुँदो रहेछ ।
शहर सफाइको पछाडि कसैको पसिना, जोखिम र कहिलेकाहीँ ज्यानकै मूल्य जोडिएको हुन्छ । तपाईंहरूको घरको सेफ्टी ट्यांकी वा ढल सफा कसले गर्छ ? कहिल्यै सोच्नुभएको छ—त्यो दुर्गन्धित, अँध्यारो र जोखिमले भरिएको ठाउँमा पस्ने मानिसको जीवन कस्तो हुन्छ ? हो तीनै हुन तपाई हामी बसिरहेको शहर सफा गर्ने सरसफाईकर्मी ।
सेफ्टी ट्यांकी वा ढल खोलेर भित्र पसेर फोहोर निकालिरहेका सरसफाइकर्मीहरू देख्दा हामी कति गम्भीर भएर सोच्छौं ? तर उनीहरु बाँचिरहेको जीवनलाई भित्र पसेर छाम्दा निकै भयाबह छ । उनीहरूसँग न पर्याप्त सुरक्षात्मक सामग्री छ, न स्पष्ट सरकारी संरक्षण, न त समाजले नै सम्मानजनक व्यवहार गर्छ ।
ठूला सहरका मुख्य सडकमा मेसिन प्रयोग हुन थाले पनि साँघुरा गल्ली र अव्यवस्थित बस्तीहरूमा आज पनि मानिसले नै ढल र सेफ्टी ट्यांकी सफा गर्नुपर्ने बाध्यता छ। यो केवल श्रम होइन—यो जीवनसँगको जोखिमपूर्ण सम्झौता हो ।
शहर सफा गर्ने यिनै हातहरूको जीवन सुरक्षा र मर्यादाको प्रश्न आज पनि सार्वजनिक बहसको केन्द्रमा आउन सकेको छैन । फोहोरसँग खेल्ने तर फोहोरकै कारण जोखिममा पर्ने यी कर्मवीरहरूको अवस्था बुझ्न ललितपुरको वडा नम्बर ८ मा भेटिए ५२ वर्षीय रामबहादुर विश्वकर्मालाई भेटे पुग्छ ।
बिहानैदेखि साँझ अबेरसम्म उनको दिनचर्या सेफ्टी ट्यांकी र ढलको दुर्गन्धसँगै बित्छ । कहिले अँध्यारो खाडलभित्र पसेर लेदो निकाल्दै, कहिले ग्यासको जोखिमबीच सास रोकेर काम गर्दै गर्दा कतिखेर फेरिरहेका श्वास रोकिने हो, उनलाई पत्तो छैन ।
उनको शरीरमा लागेको फोहोरभन्दा गहिरो पीडा भने मनभित्र छ, असुरक्षा, अनिश्चितता र समाजको बेवास्ता । “काम नगरे खान पाइँदैन, गरे ज्यान जाने डर,” उनी भन्छन् “हातमा पञ्जा छैन, अनुहारमा मास्क छैन, तर परिवार पाल्ने जिम्मेवारी छ । कहिलेकाहीँ ट्यांकीभित्र पस्दा निसास्सिएर फर्किन नपाउने डरले मन काँप्छ, तर विकल्प नहुँदा फेरि त्यही खाडलमा पस्नैपर्छ ।”
दिनभर फोहोरसँग जुधेर फर्किंदा पनि समाजले रामबहादुर जस्तै सयौ सुरक्षकर्मीलाई सम्मान होइन, टाढै राख्ने दृष्टिले हेर्छ । त्यसैले सरसफाइकर्मीहरू आफ्नो पेशा लुकाएर बाँच्न बाध्य छन् ।
तथ्यांकै छैन
सरकारसँग यस्ता सरसफाइकर्मीहरूको यकिन तथ्यांकसमेत छैन । युएन ह्याविटाट र इकोनको तथ्यांक अनुसार नेपालमा करिब १५ हजारदेखि २० हजारसम्म व्यक्ति सरसफाइ सेवामा संलग्न छन् । एक ईकोनका अनुसार दिसाजन्य लेदो व्यवस्थापनमा संलग्न ६० प्रतिशत सरसफाइकर्मी दीर्घकालीन स्वास्थ्य समस्याबाट पीडित छन् । अझै पनि ६० प्रतिशतभन्दा बढी सरसफाइकर्मीहरूले पञ्जा, मास्क, जुत्ताजस्ता आधारभूत सुरक्षा उपकरणबिना काम गरिरहेका छन् । भयाबह तथ्यांक के छ भने, २८ प्रतिशत अझै पनि हातैले दिसाजन्य लेदो सफा गर्न बाध्य छन् । कति मान्छेको ग्यासका कारण मृत्यु भयो ? त्यसको तथ्यांक पनि कसैले राखेको छैन् । यी तथ्यांकहरू केवल संख्या होइनन्, यी त राज्यको प्राथमिकतामा उनीहरू कहाँ छन् भन्ने प्रश्नका प्रतिविम्ब हुन् ।
शहरी क्षेत्रहरूमा दैनिक करिब १,४०० टनभन्दा बढी ठोस फोहोर उत्पादन हुने तथ्यांकले देखाउँछ, जसको व्यवस्थापनमा यी श्रमिकहरूको भूमिका अत्यन्त महत्वपूर्ण छ । विश्व बैंकका अनुसार अनुसार दक्षिण एसियामा काम गर्ने धेरै सरसफाइकर्मीहरू अझै पनि असंगठित क्षेत्रमा कार्यरत छन्, जसले उनीहरूलाई कानुनी सुरक्षा र सामाजिक सुरक्षाबाट टाढा राखेको छ ।
स्वच्छता मानव जीवनको आधारभूत आवश्यकता मात्र होइन, सभ्य र दिगो समाज निर्माणको मेरुदण्ड हो । स्वस्थ जीवनशैली, सुरक्षित वातावरण र समुन्नत शहरको आधार सरसफाइमै निर्भर हुन्छ । घर, विद्यालय, अस्पतालदेखि सडक र सार्वजनिक स्थलसम्म सफा राख्न दिनरात खटिने सरसफाइकर्मीहरू हाम्रो समाजका अदृश्य नायक हुन् । उनीहरूको श्रमकै कारण हामी स्वच्छ र सुरक्षित वातावरणमा बाँचिरहेका छौं । तर विडम्बना, यति महत्वपूर्ण भूमिका निर्वाह गर्ने यी श्रमिकहरूको जीवन भने अझै असुरक्षित र उपेक्षित छ ।
संविधानकै उल्लंघन
नेपालको संविधानले प्रत्येक नागरिकलाई स्वास्थ्यसम्बन्धी अधिकार (धारा ३५) र मर्यादित श्रमको अधिकार (धारा ३४) सुनिश्चित गरेको छ । यसले प्रत्येक श्रमिकलाई सुरक्षित कार्यस्थल, उचित पारिश्रमिक र सामाजिक सुरक्षाको ग्यारेन्टी गरेको छ । तर व्यवहारमा सरसफाइकर्मीहरू अझै पनि यी अधिकारबाट पूर्ण रूपमा वञ्चित छन् ।
सरसफाइसँग प्रत्यक्ष सम्बन्धित दिगो विकास लक्ष्य (६) ले सन् २०३० सम्म सबैका लागि सुरक्षित पानी र सरसफाइ सुनिश्चित गर्ने लक्ष्य राखेको छ । त्यसैगरी दिगो विकास लक्ष्य (८) ले सम्मानजनक रोजगारी र सुरक्षित कार्य वातावरणको प्रत्याभूति गर्ने लक्ष्य लिएको छ। यी दुवै लक्ष्य प्राप्तिमा सरसफाइकर्मीहरूको योगदान अत्यन्त महत्वपूर्ण छ ।
सरसफाइ क्षेत्रमा मुख्यतः दुई प्रकारका कामदार छन् । ठोस फोहोर व्यवस्थापन गर्ने र मानव मल–मूत्र व्यवस्थापन (फिकल स्लज) मा काम गर्ने । विशेष गरी ढल र सेप्टिक ट्याङ्की सफा गर्ने कामदारहरू अत्यन्त जोखिमपूर्ण अवस्थामा काम गर्न बाध्य छन् ।
अन्तर्राष्ट्रि श्रम संगठन ९क्ष्ीइ० का अनुसार यस्ता कामदारहरू रासायनिक ग्यास, संक्रमण र दुर्घटनाको उच्च जोखिममा रहने समूहमा पर्छन् ।
नेपालको श्रम ऐन २०७३ ले श्रमिकहरूको स्वास्थ्य, सुरक्षा र सामाजिक सुरक्षासम्बन्धी प्रावधानहरू स्पष्ट रूपमा उल्लेख गरेको छ । यस कानुनअनुसार प्रत्येक रोजगारदाताले कामदारलाई आवश्यक सुरक्षात्मक सामग्री उपलब्ध गराउनुपर्ने, बीमा गर्नुपर्ने र सुरक्षित कार्य वातावरण सुनिश्चित गर्नुपर्ने व्यवस्था छ । तर व्यवहारमा धेरै सरसफाइकर्मीहरू अझै पनि पञ्जा, मास्क, बुटजस्ता आधारभूत सुरक्षा सामग्रीबिना नै काम गरिरहेका छन् ।
यसका साथै, स्थानीय सरकार सञ्चालन ऐन २०७३ ले नेपालले सरसफाइ व्यवस्थापनको जिम्मेवारी स्थानीय तहलाई दिएको छ । तर धेरै स्थानीय तहहरूमा स्रोत, प्रविधि र व्यवस्थापनको अभावका कारण सरसफाइकर्मीहरूको सुरक्षा र व्यवस्थापनमा कमजोरी देखिएको छ ।
सामाजिक दृष्टिकोण पनि अर्को गम्भीर चुनौती हो । सरसफाइ पेशालाई हेर्ने दृष्टिकोण अझै सम्मानजनक बन्न सकेको छैन । जातीय विभेद र पेशागत पूर्वाग्रहका कारण धेरै सरसफाइकर्मीहरू आफ्नो पहिचान लुकाउन बाध्य छन् । यसले उनीहरूको आत्मसम्मान र मानसिक स्वास्थ्यमा गहिरो असर पारिरहेको छ ।
अब प्रश्न उठ्छ—समाधान के ?
सबैभन्दा पहिले, सरसफाइकर्मीहरूको कामलाई औपचारिक मान्यता दिँदै न्यूनतम पारिश्रमिक, बीमा, स्वास्थ्य सेवा र सामाजिक सुरक्षा अनिवार्य रूपमा लागू गरिनुपर्छ । जोखिमपूर्ण काममा संलग्न कामदारहरूका लागि विशेष भत्ता र स्वास्थ्य बीमाको व्यवस्था आवश्यक छ ।
दोस्रो, ढल तथा सेप्टिक ट्याङ्की सफाइ जस्ता काममा मेसिनको प्रयोग अनिवार्य बनाउँदै मानव श्रमको जोखिम घटाउनुपर्छ ।
तेस्रो, स्थानीय तहहरूले सरसफाइकर्मीहरूको लागि नियमित तालिम, सुरक्षात्मक सामग्री र सुरक्षित कार्यप्रणाली सुनिश्चित गर्नुपर्छ ।
चौथो, समाजमा श्रमप्रतिको सम्मान बढाउन विद्यालय तहदेखि नै पाठ्यक्रममा श्रमको मर्यादा र सरसफाइको महत्व समावेश गरिनुपर्छ ।
अन्ततः सरसफाइकर्मीहरूको जीवनसुरक्षा र गरिमा सुनिश्चित गर्नु केवल राज्यको दायित्व मात्र होइन—यो हाम्रो सामूहिक नैतिक जिम्मेवारी पनि हो । हामीले हिँड्ने सफा सडक, बस्ने स्वच्छ शहर र प्रयोग गर्ने सुरक्षित वातावरणको आधार उनीहरूको श्रम हो । उनीहरूको सम्मान, सुरक्षा र अधिकार सुनिश्चित गर्नु वास्तवमा, सभ्य समाजको पहिचान हो ।
सरसफाइकर्मीप्रति राज्यले जिम्मेवारी पूर्वक सोच्नुपर्छ र समाजल आफ्नो दृष्टिकोण बदल्नैपर्छ ।

तपाईको प्रतिक्रिया