“घर–घरको शान, स्वच्छता अभियान” अन्तर्गत जनचेतनामूलक सडक नाटक प्रदर्शन

लहान, । घर–घरमा स्वच्छता, सरसफाइ तथा नियमित शौचालय प्रयोगको संस्कार विकास गर्ने उद्देश्यले लहान नगरपालिकाले सञ्चालन गरिरहेको ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत जनचेतनामूलक सडक नाटक प्रदर्शन गरिएको छ।

अभियान अन्तर्गत आज बिहान ११:०० बजे लहान नगरपालिका–१, मटियार्वा माँ सन्तोषी टोलमा युवाहरूको सक्रिय सहभागितामा सडक नाटक प्रदर्शन गरिएको हो। नाटकमार्फत शौचालय प्रयोगको आवश्यकता, नियमित शौचालय प्रयोग गर्ने बानी, व्यक्तिगत तथा वातावरणीय सरसफाइको महत्व, खुला दिसामुक्त अवस्थाको संरक्षण तथा स्वच्छ र स्वस्थ समुदाय निर्माणमा प्रत्येक नागरिकको भूमिकाबारे सशक्त सन्देश प्रवाह गरिएको थियो।

सडक नाटकमार्फत “शौचालय मर्यादासँग जोडिएको छ, शौचालय हाम्रो शान हो” भन्ने मुख्य सन्देश प्रभावकारी रूपमा प्रवाह गरिएको थियो। प्रस्तुतिमा शौचालयको नियमित प्रयोग केवल सरसफाइको विषय मात्र नभई व्यक्तिगत मर्यादा, पारिवारिक सम्मान, स्वास्थ्य सुरक्षा तथा सभ्य समाज निर्माणसँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएको स्पष्ट पारिएको थियो। साथै, प्रत्येक घरमा शौचालयको उपलब्धता र त्यसको नियमित प्रयोगले स्वस्थ, स्वच्छ र सम्मानित जीवनयापनमा महत्वपूर्ण योगदान पुर्‍याउने सन्देश नाटकमार्फत समुदायमा प्रवाह गरिएको थियो। कलाकारहरूले संवाद, अभिनय तथा सशक्त प्रस्तुतीकरणमार्फत सरसफाइलाई दैनिक जीवनको संस्कारका रूपमा अपनाउन तथा शौचालयको प्रयोगलाई अनिवार्य व्यवहारका रूपमा स्थापित गर्न सबै नागरिकलाई आह्वान गरेका थिए।

कार्यक्रममा स्थानीय बासिन्दा, महिला, युवा तथा बालबालिकाको उत्साहजनक सहभागिता रहेको थियो। नाटक हेर्न उपस्थित समुदायले कलाकारहरूले प्रस्तुत गरेको सन्देशलाई सकारात्मक रूपमा ग्रहण गर्दै सरसफाइ र शौचालयको नियमित प्रयोगलाई दैनिक जीवनको अभिन्न अभ्यास बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

लहान नगरपालिकाले स्वच्छ, स्वस्थ र सभ्य नगर निर्माण गर्ने लक्ष्यका साथ सञ्चालन गरिरहेको ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत विभिन्न वडा तथा समुदायमा यस्ता जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ। अभियानले समुदायमा व्यवहार परिवर्तन ल्याई सरसफाइसम्बन्धी चेतना अभिवृद्धि गर्ने, शौचालयको दिगो प्रयोग सुनिश्चित गर्ने तथा जनस्वास्थ्य सुधारमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

नगरपालिकाका अनुसार विकासका पूर्वाधारसँगै नागरिकको व्यवहारमा सकारात्मक परिवर्तन ल्याउनु पनि उत्तिकै आवश्यक भएकाले सांस्कृतिक तथा सिर्जनात्मक माध्यमबाट जनचेतना फैलाउने कार्यलाई प्राथमिकता दिइएको हो। यस अभियानले सबै नागरिकलाई स्वच्छता आफ्नो दायित्व हो भन्ने भावना विकास गराउँदै स्वस्थ, सुरक्षित र समृद्ध समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

लहान नगरपालिकाले आगामी दिनमा पनि नगरका विभिन्न वडा तथा टोलहरूमा यस्ता सडक नाटक, अन्तरक्रिया, सरसफाइ अभियान तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै स्वच्छ, स्वस्थ र वातावरणमैत्री लहान निर्माणको अभियानलाई थप प्रभावकारी बनाउने जनाएको छ।

तपाईको प्रतिक्रिया