कीर्गिस्तानका दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली कुस्ती टोली सहभागी हुँदै

काठमाडौं । नेपाली कुस्ती खेलाडीहरू कीर्गिस्तानको बिस्केकमा आयोजना हुने दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने भएका छन्।

अप्रिल ५ देखि १२ सम्म सञ्चालन हुने सिनियर एसियाली कुस्ती प्रतियोगिता तथा अप्रिल १२ देखि १४ सम्म हुने सिनियर एसियाली बेल्ट कुस्ती एलिस प्रतियोगितामा नेपालका खेलाडीले प्रतिस्पर्धा गर्ने कार्यक्रम रहेको छ।

यी दुवै प्रतियोगितामा पुरुषतर्फ ७४ केजी तौल समूहमा सुरेश चुनारा र ९७ केजीमा त्रिलोकप्रसाद यादवले नेपालको प्रतिनिधित्व गर्नेछन्। सुरेशले यसअघि भारतमा सम्पन्न एसियाली बेल्ट कुस्तीमा कांस्य पदक जितेका थिए।

टोलीका प्रशिक्षक मुमताज अलि इद्रिसी रहेका छन् भने खेलाडीसहित तीन सदस्यीय टोली चैत २४ गते कीर्गिस्तानतर्फ प्रस्थान गर्ने तयारीमा छ।

यसैबीच, कीर्गिस्तानमै हुने युनाइटेड वर्ल्ड रेस्लिङ एसिया काउन्सिलको साधारण सभामा सहभागी हुन नेपाल कुस्ती संघका अध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषद्का सदस्य प्रकाशकुमार कुसारी पनि त्यसतर्फ जाने कार्यक्रम रहेको छ।

टोलीलाई सफलताको कामना गर्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहताले बिहीबार औपचारिक रूपमा बिदाइ गरेका छन्।

तपाईको प्रतिक्रिया