कालीकोटमा लामखुट्टेजन्य रोगको प्रभाव, ६ पालिकामा संक्रमित भेटिए

लामखुट्टेको टोकाइबाट सर्ने रोगहरू अब हिमाली जिल्ला कालीकोटमा पनि देखिन थालेका छन्। पछिल्ला वर्षहरूमा डेंगी, कालाजार र औलोका संक्रमित फेला पर्न थालेपछि स्वास्थ्य अधिकारीहरूले यसलाई सतर्कतापूर्वक निगरानी गर्नुपर्ने अवस्था आएको बताएका छन्।

जिल्ला स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत कटकबहादुर महतका अनुसार आर्थिक वर्ष २०८२/८३ मा कालीकोटमा लामखुट्टेबाट सर्ने तीन प्रकारका रोगका गरी १९ जना बिरामी पुष्टि भएका छन्। तीमध्ये डेंगीका १०, कालाजारका आठ र औलोका एक जना बिरामी रहेका छन्।

उनका अनुसार जिल्लाका नौ स्थानीय तहमध्ये छ वटा पालिकामा यस्ता रोगका बिरामी भेटिएका छन्। विगतमा मुख्यतः तराई र पहाडी क्षेत्रमा सीमित मानिने यी रोग पछिल्ला वर्षमा हिमाली जिल्लासम्म फैलिन थालेका छन्।

जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख रत्नवीर सुनारले जलवायु परिवर्तनका कारण तापक्रम वृद्धि हुँदा पहिले चिसो मानिने क्षेत्रमा पनि लामखुट्टे बाँच्न र प्रजनन गर्न सहज भएको बताए। साथै, कालीकोटबाट तराईका जिल्लामा हुने आवतजावतले पनि संक्रमण फैलिन सहयोग पुगेको हुन सक्ने उनको भनाइ छ।

उनले सडक विस्तार, बजार विकास तथा अव्यवस्थित बस्तीका कारण विभिन्न स्थानमा पानी जम्ने अवस्था बढ्दा लामखुट्टे हुर्कन अनुकूल वातावरण बनेको उल्लेख गरे। विशेषगरी कर्णाली र तिला नदी आसपासका तल्लो भेगमा लामखुट्टेबाट सर्ने रोगका बिरामी बढी देखिएको उनले जानकारी दिए।

जिल्लामा यस्ता रोगका बिरामी देखिन थालेपछि संक्रमण फैलिन नदिन स्वास्थ्य संस्थासँगको सहकार्यमा लामखुट्टेको लार्भा खोजी तथा नष्ट गर्ने अभियान सञ्चालन गरिएको जिल्ला स्वास्थ्य कार्यालयको महामारी रोग नियन्त्रण शाखाका प्रमुख हेमराज बमले बताए।

उनका अनुसार जोखिम रहेका क्षेत्रमा स्थानीय स्वास्थ्य संस्थाको सहयोगमा पानी जम्ने स्थानको सरसफाइ, लार्भा नष्ट गर्ने अभियान तथा लामखुट्टेको टोकाइबाट जोगिन झुल प्रयोग गर्नेलगायतका विषयमा सर्वसाधारणलाई सचेतना दिइँदै आएको छ।

तपाईको प्रतिक्रिया