काठमान्डु गोर्खाजमा रिकार्डो भास्कोनेसेलोस अनुबन्धित


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो सिजनका लागि काठमान्डु गोर्खाजले पहिलो विदेशी खेलाडीको रूपमा दक्षिण अफ्रिकामा जन्मेका विकेटकिपर-ब्याट्सम्यान रिकार्डो भास्कोनेसेलोसलाई अनुबन्ध गरेको छ।

हाल इंग्ल्यान्डको घरेलु क्रिकेट खेलिरहेका रिकार्डो सोमबार आफ्नो २८औं जन्मदिन मनाइरहेका छन्। उनले दक्षिण अफ्रिकाको यू–१९ राष्ट्रिय टोलीबाट खेलिसकेका छन् र घरेलु क्रिकेटमा बोल्यान्डबाट प्रथम श्रेणीको डेब्यु गरिसकेका छन्। नर्थम्टनसायरबाट काउन्टी क्रिकेट खेलेका र भाइटालिटी ब्लास्टमा पनि खेलिरहेका रिकार्डो यस टोलीका कप्तान पनि रहेका छन्।

हालै सम्पन्न भाइटालिटी ब्लास्टमा उनले १४२ भन्दा माथि स्ट्राइक रेटमा १५ खेलमा ३४२ रन बनाएका थिए। कुल ६० खेलमा १२७ भन्दा माथि स्ट्राइक रेटमा १४४६ रन उनको दायित्वमा छन्।

काठमाडौं स्पोर्टस डेभलपमेन्ट भेन्चर्स प्रालिको स्वामित्वमा रहेको काठमान्डु गोर्खाजले रिकार्डोको अनुबन्धनमा उत्साह व्यक्त गरेको छ। टोलीले मार्की खेलाडी करण केसीसहित भीम सार्की, साहव आलम, रशिद खान, दीपेश कँडेल र प्रतिक श्रेष्ठलाई रिटेन गरेको थियो भने मिनी अक्सनबाट आदिल आलम, सन्तोष यादव, आकाश त्रिपाठी, उत्तम थापामगर र तुलबहादुर थापालाई पनि अनुबन्ध गरेको छ।

काठमान्डु गोर्खाज नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक मोन्टी देसाईको प्रशिक्षणमा खेल्नेछ भने टोली प्रशिक्षकको जिम्मेवारी बसन्त शाहीले सम्हाल्ने छन्।

तपाईको प्रतिक्रिया