एसिसी यु–१६ कप : नेपाल फाइनलमा, मलेसियामाथि शानदार जित

काठमाडौं । साविक विजेता नेपालले मलेसियामा जारी एसिसी मेन्स यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ। बिहीबार सेलाङ्गोर टर्फ क्लबमा सम्पन्न सेमिफाइनल खेलमा नेपालले घरेलु टोली मलेसियालाई ९ विकेटले पराजित गर्दै उपाधि भिडन्तमा प्रवेश गरेको हो।

मलेसियाले दिएको ९१ रनको लक्ष्य नेपालले १४.४ ओभरमा मात्र १ विकेट गुमाएर सहजै पूरा गर्‍यो।
नेपालका लागि परिमार्जन यादवले उत्कृष्ट प्रदर्शन गर्दै ५९ रन (अविजित) बनाए। उनले ३५ बलमा पाँच चौका र पाँच छक्काको मद्दतमा यो रन जोडे। उनलाई शिवांश बजगाईंले २३ रनको अविजित साथ दिएका थिए। ओपनर प्रसिद्ध जैसी भने दुई रनमा आउट भएका थिए। मलेसियाका नागिनिश्वरमले एक मात्र विकेट लिएका थिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मलेसिया ४३.१ ओभरमा सिर्फ ९० रनमै अलआउट भयो।
मलेसियाका लागि मोहमद फतुल मुइनले सर्वाधिक ३८ रन बनाए भने कप्तान डियाज प्याट्रोले १० रन जोडे। अन्य ब्याट्सम्यानहरू दोहोरो अंकमा रन जोड्न असफल रहे।

नेपालका तर्फबाट बलिङमा अभय यादवले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिएका थिए।
शुभम खनालले ३ विकेट, सचिन भट्ट र कप्तान विपिनप्रसाद शर्माले एक–एक विकेट लिए।

अब नेपालले फाइनलमा असार २१ गते हङकङ र सिङ्गापुरबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

एसियन क्रिकेट काउन्सिल (एसीसी) को आयोजनामा जारी प्रतियोगितामा १० राष्ट्र सहभागी छन्, जसलाई दुई समूहमा विभाजन गरिएको थियो।

तपाईको प्रतिक्रिया