अष्ट्रेलियामा हुने टप इन्ड टी–२० सिरिजमा नेपालसहित १० टिमको सहभागिता

काठमाडौं । अष्ट्रेलियामा आगामी अगस्ट महिनामा आयोजना हुने टप इन्ड टी–२० सिरिजमा नेपालसहित १० टोलीले सहभागिता जनाउने भएका छन्।

अघिल्लो संस्करणमा ५ टोली सम्मिलित रहे पनि यसपटक टिम संख्या दोब्बर बढाएर १० पुर्याइएको आयोजकले जनाएको छ। नेपालले यो प्रतियोगिता आगामी अक्टोबरमा हुने टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको तयारीस्वरूप खेल्ने तयारी गरेको हो।

प्रतियोगितामा सहभागी अन्तर्राष्ट्रिय टोलीहरूमा नेपालसँगै पाकिस्तान शाहीन्स (पाकिस्तान ‘ए’), बंगलादेश ‘ए’ र अमेरिकाबाट शिकागो किङ्समेन रहेका छन्।

यस्तै, अष्ट्रेलियाका बिग ब्यास लिग (BBL) का पाँच एकेडेमी टोली — होबार्ट हुरिकेन्स, पर्थ स्कोर्चर्स, एडिलेड स्ट्राइकर्स, मेलबर्न स्टार्स र मेलबर्न रेनेगेड्स प्रतियोगितामा सहभागी हुने छन्।

त्यसैगरी, घरेलु टोली एसीटी कोमेट्स र एनटी स्ट्राइक पनि टप इन्ड सिरिजमा खेल्ने पक्का भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले यस प्रतियोगितालाई विश्वकप छनोटअघि उत्कृष्ट अभ्यासको अवसरका रूपमा लिएको छ। युवा खेलाडीहरूले अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट अनुभव सँगाल्ने विश्वास गरिएको छ।

प्रतियोगिताको विस्तृत तालिका, स्थान र मिति छिट्टै सार्वजनिक गरिने आयोजकले जनाएको छ।

तपाईको प्रतिक्रिया