राजधानीलाई पानी आपूर्ति हुने सुन्दरीजल क्षेत्रमै खानेपानीको समस्या, स्थानीयको गुनासो यथावत्

काठमाडौं। काठमाडौं उपत्यकामा वितरण हुने मेलम्ची खानेपानी प्रशोधन केन्द्र रहेको सुन्दरीजल आसपासका बासिन्दाले वर्षौंदेखि नियमित खानेपानी सुविधा नपाएको गुनासो गरेका छन्। राजधानीमा पानी आपूर्ति भइरहे पनि गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकाका विभिन्न बस्तीका स्थानीय भने अझै कुवा, ढुङ्गेधारा तथा सार्वजनिक धारामा निर्भर रहन बाध्य छन्।

स्थानीयवासी तथा जनप्रतिनिधिहरूले मुहान क्षेत्रका बासिन्दालाई समेत सहज रूपमा खानेपानी उपलब्ध गराउन पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आए पनि समस्या समाधान हुन नसकेको उनीहरूको भनाइ छ।

गत साता बसेको प्रतिनिधिसभाको खानेपानी तथा पूर्वाधारसम्बन्धी समितिको बैठकमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ का सांसद राजुनाथ पाण्डेले गोकर्णेश्वर क्षेत्रको खानेपानी समस्या समाधान नभए मेलम्चीको पानी राजधानीमा वितरण गर्न नदिने चेतावनी दिएका थिए।

यसैक्रममा शनिबार उनले सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रतिनिधिसँग छलफल गर्दै स्थानीयको समस्या समाधानका लागि आवश्यक पहल गर्न आग्रह गरेका छन्।

मेलम्ची खानेपानी आयोजना अन्तर्गत सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ बाट करिब २७.५ किलोमिटर सुरुङमार्फत ल्याइएको पानी सुन्दरीजलमा प्रशोधन गरी काठमाडौं उपत्यकामा वितरण गरिन्छ। त्यस्तै, बाग्मती नदीको पानी पनि यही केन्द्रबाट प्रशोधन गरी विभिन्न क्षेत्रमा आपूर्ति हुँदै आएको छ। तर स्रोतस्थल आसपासका बासिन्दाले भने नियमित खानेपानी सेवा नपाएको बताएका छन्।

कागेश्वरी मनोहरा नगरपालिका–३ भद्रवासकी स्थानीय सावित्री सापकोटाका अनुसार करिब १० लिटर पानी लिन गोकर्णेश्वर नगरपालिका–१ रुप्सेटारस्थित सार्वजनिक धारासम्म पुग्न करिब आधा घण्टा पैदल हिँड्नुपर्ने र पानी भर्न लामो समय पालो कुर्नुपर्ने अवस्था छ।

त्यसै क्षेत्रका केशवप्रसाद पुडासैनीले नगरपालिकाले विभिन्न खानेपानी आयोजना सञ्चालन गरेको दाबी गरे पनि दीर्घकालीन व्यवस्थापनको अभावका कारण स्थानीयले स्वच्छ खानेपानीको सुविधा पाउन नसकेको बताए।

गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता नारायणबहादुर सुवेदीले नगरपालिकाले आफ्नै बजेटबाट पाइपलाइन विस्तार गरी केयुकेएललाई हस्तान्तरण गरे पनि अपेक्षाअनुसार सेवा प्रवाह हुन नसकेको स्वीकार गरेका छन्।

स्थानीय प्रेम श्रेष्ठले सुन्दरीजलस्थित पुरानो बाग्मती पानी प्रशोधन केन्द्र प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा स्थानीय क्षेत्रमा शुद्ध खानेपानी वितरण प्रभावित भएको दाबी गर्दै केन्द्रको शीघ्र मर्मत गरी नियमित सेवा सञ्चालन गर्न माग गरेका छन्।

केयुकेएलका प्रबन्ध निर्देशक रामरतन साहका अनुसार सुन्दरीजल क्षेत्रको समस्या पुरानो वितरण प्रणालीसँग सम्बन्धित छ। पञ्चायतकालमा निर्माण गरिएको पाइपलाइन अहिलेको जनसंख्याको चाप धान्न नसक्ने अवस्थामा पुगेकाले नयाँ वितरण प्रणाली निर्माण गर्ने विषयमा सांसद पाण्डेसँग सहमति भएको उनले जानकारी दिए।

यता, अत्तरखेलका स्थानीय नोर्साङ शेर्पाले सुन्दरीजलस्थित पुरानो बाग्मती पानी प्रशोधन केन्द्र प्रभावकारी रूपमा सञ्चालन नहुँदा बौद्ध क्षेत्रसम्म पुग्ने पानी धमिलो हुने गरेको गुनासो गरेका छन्। उनका अनुसार यस्तो पानी प्रयोग गर्दा कपडा राम्रोसँग सफा नहुने र नुहाएपछि शरीर चिलाउने समस्या देखिने गरेको छ। यस विषयमा नागरिक समाजले लामो समयदेखि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आए पनि प्रभावकारी समाधान हुन नसकेको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया