बजेटका त्रुटि सुधार गर्न मधेस प्रदेशसभाले गठन गर्‍यो सात सदस्यीय कार्यदल

जनकपुरधाम। मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गरेको बजेटमा देखिएका त्रुटि तथा अन्य विषयको अध्ययन र समाधानका लागि प्रदेशसभाले सात सदस्यीय कार्यदल गठन गरेको छ।

आइतबार बसेको प्रदेशसभा बैठकले कार्यदल गठन गर्ने निर्णय गरेको हो। कार्यदलले बजेटमा देखिएका समस्या तथा त्रुटिको अध्ययन गर्दै आवश्यक सुधारका लागि तत्कालै काम सुरु गर्ने जनाइएको छ।

कार्यदलमा प्रमुख प्रतिपक्षी दल जनता समाजवादी पार्टी (जसपा) नेपालबाट उपेन्द्र यादव, जनमत पार्टीबाट सञ्जयकुमार यादव तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट सरिताकुमारी ठाकुर सदस्य रहेका छन्।

त्यसैगरी सत्तारूढ पक्षबाट नेकपा (एमाले)का हरिनारायण महतो, नेपाली कांग्रेसका जंगीलाल राय, नेकपाका प्रमोदकुमार यादव तथा नेपाल संघीय समाजवादी पार्टीकी विमला अन्सारी तरुन्नम कार्यदलमा समावेश छन्।

यसअघि प्रतिपक्षी दलहरूले प्रदेश सरकारले प्रस्तुत गरेको बजेट असंवैधानिक रहेको र कार्यान्वयन गर्न नसकिने दाबी गर्दै प्रदेशसभा बैठक अवरुद्ध गर्दै आएका थिए।

कार्यदल गठन गर्ने निर्णयपछि प्रदेशसभा बैठक स्थगित गरिएको छ। अर्को बैठक असार ३० गते दिउँसो १ बजे बस्ने तय गरिएको छ।

तपाईको प्रतिक्रिया