विश्वकप लिग–२: अर्जुन कुमालले गरे अन्तर्राष्ट्रिय डेब्यु

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनिङ ब्याट्सम्यान अर्जुन कुमालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका छन्।

अर्जुनले शुक्रबार आईसीसी विश्वकप लिग–२ अन्तर्गत युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्धको खेलमार्फत नेपालका लागि एकदिवसीय करियर सुरु गरेका हुन्। उनलाई मुख्य प्रशिक्षक स्टुअर्ट लले आजको खेलका लागि प्लेइङ–११ मा समावेश गरेका हुन्।

यसअघि सन् २०२५ मा सम्पन्न यू–१९ एसिया कपमा उनले नेपालको प्रतिनिधित्व गरिसकेका थिए। हालै सम्पन्न प्रधानमन्त्री कपमा उत्कृष्ट प्रदर्शन गर्दै अर्जुन सबैभन्दा धेरै रन बनाउने खेलाडी बनेका थिए। गण्डकी प्रदेशबाट खेल्दै उनले ९ इनिङमा ५०४ रन बनाएका थिए, जसमा दुई शतक र एक अर्धशतक समावेश छन्।

त्यसैगरी, विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारीलाई पनि आजको खेलमा पहिलो रोजाइमा स्थान दिइएको छ। अघिल्ला दुई खेलमा बेन्चमा रहेका उनी यसपटक प्लेइङ–११ मा परेका हुन्।

नन्दन यादव पनि आजको प्लेइङ–११ मा समावेश भएका छन्। अघिल्ला खेलमा स्थान पाएका कुशल भुर्तेल, आशिफ शेख, बसिर अहमद र करण केसी भने यस खेलमा बेन्चमा रहेका छन्।

नेपालको आजको प्लेइङ–११ मा अर्जुन कुमाल, विनोद भण्डारी, भीम शार्की, रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने र ललित नारायण राजवंशी रहेका छन्।

तपाईको प्रतिक्रिया