पहिलो पटक विदेशी मैदानमा आइस स्केटिङ खेल्दै नेपाली टिम

काठमाडौं। नेपालले इतिहासमा पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको आइस स्केटिङ प्रतियोगितामा सहभागिता जनाउन लागेको छ। भारतीय आइस स्केटिङ संघको आयोजना तथा एसियाली आइस स्केटिङ महासंघ र अन्तर्राष्ट्रिय स्केटिङ महासंघको सहयोगमा हुने सर्ट ट्रयाक स्पिड आइस स्केटिङ प्रतियोगितामा नेपालका दुई महिला र चार पुरुष खेलाडीले भाग लिनेछन्।

नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघका अध्यक्ष अच्युत खनालका अनुसार प्रतियोगिता पुस १२ देखि १४ गतेसम्म भारतको देहरादुनस्थित माहाराणा प्रताप स्पोर्ट्स कम्प्लेक्समा रहेको हिमाद्री अन्तर्राष्ट्रिय आइस स्केटिङ रिंक सेन्टरमा आयोजना हुनेछ।

प्रतियोगितामा नेपालका खेलाडी यसप्रकार सहभागी हुने निश्चित भएको छ:

  • सिनियर पुरुष १००० मिटर: रमेश मोक्तान, अरुण खत्वे
  • जुनियर महिला ५०० मिटर: परी गुरागाईं, अल्का घिमिरे
  • जुनियर पुरुष २५० मिटर: जेभियर जंग थापा, सायोन अर्याल

त्यसैगरी, प्रतियोगितामा टिम म्यानेजरको रूपमा सञ्जु श्रेष्ठ र अफिसियलको रूपमा महासचिव सत्य थापाले सहभागिता जनाउनेछन्।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले खेलाडीहरूको बिदाइ गर्दै यस ऐतिहासिक सहभागिता नेपालका लागि गर्वको कुरा रहेको बताए। उनले भने, “शीतकालीन ओलम्पिक खेलको रूपमा रहेको आइस स्केटिङ नेपालका लागि भौगोलिक रूपमा उपयुक्त खेल हो, र यसबाट नेपालले भविष्यमा मेडल जित्ने विश्वास राख्छौं।”

तपाईको प्रतिक्रिया