पछिल्लो २० वर्षको निरन्तर प्रयासका कारण आज (एनपीएल)ले पहिचान बनाएको हो:पारस खड्का

काठमाडौँ। नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाली क्रिकेटमा पछिल्लो समय देखिएको सकारात्मक परिवर्तन तत्कालैको प्रयासबाट आएको नभएको बताएका छन्।

शुक्रबार नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) र क्यानको सहकार्यमा आयोजित ‘एनपीएल मिडिया डे’ कार्यक्रममा बोल्दै उनले भने, “नेपाली क्रिकेटमा आएको यो परिवर्तन एक सचिव परिवर्तन भएर आएको होइन। हामीले पछिल्लो दुई दशकयता अन्तर्राष्ट्रिय क्रिकेट खेलिरहेका छौँ, जसको परिणाम विस्तारै देखिइरहेको छ। पछिल्लो २० वर्षको निरन्तर प्रयासका कारण आज नेपाल प्रिमियर लिग (एनपीएल)ले पहिचान बनाएको हो।”

खड्काले कुनै पनि संस्थाले गरेको गलत कामको मूल्याङ्कन गर्दा केवल आलोचना गर्नु पर्याप्त नभई त्यसको सुधारका लागि विकल्प पनि प्रस्तुत गर्नुपर्नेमा जोड दिए।

“गलत हुँदा त्यसको मूल्याङ्कन र आलोचना हुनुपर्छ। तर, आलोचनामात्रै गरेर हुँदैन, त्यसको विकल्प पनि दिन सक्नुपर्छ,” उनले थपे।

एनपीएलको दोस्रो संस्करण यस वर्ष मंसिर १ गतेदेखि २७ गतेसम्म आयोजना हुँदैछ। गत वर्ष मंसिरमा भएको पहिलो संस्करणले नेपाली क्रिकेटमा सकारात्मक प्रभाव छोडेको थियो।

तपाईको प्रतिक्रिया