नेपाली महिला राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा नवीन न्यौपाने नियुक्त

काठमाडौं, अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा नवीन न्यौपानेलाई नियुक्त गरेको छ। बिहीबार बसेको एन्फाको बैठकले न्यौपानेलाई टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो।

न्यौपानेको कार्यकाल आगामी मंसिर २९ गतेदेखि सुरु हुने साफ महिला च्याम्पियनसिपसम्म कायम रहने एन्फाले जनाएको छ। प्रशिक्षक न्यौपानेसँगै भगवती थापा र राजकुमार केसीलाई सहायक प्रशिक्षकमा नियुक्त गरिएको छ। विन्दा देवान टिम व्यवस्थापक र शिला गिरी फिजियोथेरापिस्टका रूपमा टोलीमा रहनेछन्।

नव नियुक्त प्रशिक्षक न्यौपाने यसअघि ताजिकिस्तानमा सम्पन्न एएफसी यू–२३ एसियन कप छनोट खेलमा नेपाली टोलीको नेतृत्व गरिसकेका छन्।

साफ महिला च्याम्पियनसिप मंसिर २९ देखि सुरु भई १६ दिनसम्म चल्नेछ। प्रतियोगिताका सबै खेलहरू काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुनेछन्। प्रतियोगितामा पाँच दक्षिण एसियाली मुलुकहरूको सहभागिता रहनेछ।

नेपालले यसअघि सात पटक च्याम्पियनसिपमा सहभागिता जनाइसकेको छ। भारत हालसम्मकै सर्वाधिक सफल टिम हो, जसले सन् २०१०, २०१२, २०१४, २०१६ र २०१९ मा उपाधि जितेको थियो। बंगलादेशले भने सन् २०२२ मा पहिलो पटक उपाधि उचालेको थियो।

तपाईको प्रतिक्रिया