सियाली पारा तेक्वान्दो च्याम्पियनसिपमा नेपालको पाँच खेलाडीयुक्त टोली सहभागी हुने

काठमाडौं, नेपाली पारा तेक्वान्दो टोली मलेसियाको कुचिङमा आयोजना हुने १०औं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप (जी–४) मा सहभागी हुन साउन १३ गते मलेसिया प्रस्थान गर्ने भएको छ। प्रतियोगितामा टोलीका पाँचै खेलाडी साउन १६ गते प्रतिस्पर्धामा उत्रिनेछन्।

टोलीलाई शनिबार काठमाडौं जिल्ला तेक्वान्दो संघले बिदाइ गरेको हो। सात सदस्यीय टोलीमा पाँच खेलाडी, एक प्रशिक्षक र एक व्यवस्थापक रहेका छन्।

प्रतिस्पर्धी खेलाडी र तौलसमूह:

  • पुरुष तर्फ:
    • भरतसिंह महता – ५८ केजीमुनि (ओलम्पियन)
    • अमिर भ्लोन – ६३ केजीमुनि
  • महिला तर्फ:
    • पलेशा गोबद्र्धन – ५७ केजीमुनि (पेरिस पारालिम्पिक र एसियाली पारा कांस्य विजेता)
    • कामना प्रसाईं – ४७ केजीमुनि
    • रेणु तामाङ – ४७ केजीमुनि

पलेशा हाल चीनको सांघाईमा अध्ययनरत रहेकाले त्यहींबाट मलेसिया जानेछिन्।

टोलीका प्रशिक्षक कविराज नेगी लामा र व्यवस्थापक रामचन्द्र श्रेष्ठ रहने छन्। प्रशिक्षक लामाका अनुसार यो प्रतियोगिता खेलाडीहरूको अन्तर्राष्ट्रिय वरीयता सुधारका लागि अत्यन्त महत्वपूर्ण छ।

नेपालले प्रारम्भिक संस्करणदेखि निरन्तर रूपमा यस प्रतियोगितामा सहभागिता जनाउँदै आएको छ। अहिलेसम्म नेपालले एक रजत र पाँच कांस्य पदक जितेको छ। प्रशिक्षक लामाका अनुसार, रञ्जना धामीले रजत तथा कांस्य, पलेशा गोबद्र्धन, अरुण शाक्य, सीता भण्डारी र रोहितहाङ राईले कांस्य पदक जितेका हुन्।

टोलीलाई नेपाल चेम्बर अफ कमर्सअन्तर्गतको शिक्षा तथा खेलकुद समितिका अध्यक्ष रुपक राजवंशी, उपाध्यक्ष सुनिता सिंह, काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीलगायतले बिदाइ गरेका थिए।

अध्यक्ष राजवंशीले टोलीलाई प्रोत्साहनस्वरूप ५० हजार रुपैयाँ नगद दिने घोषणा गरेका छन्। सो अवसरमा लायन्स क्लब अफ काठमाडौं तेक्वान्दो नेपाल र लायन्स क्लब अफ काठमाडौं मेरिगोल्डले ट्रयाकसुट तथा संघले टिसर्ट प्रदान गरेको थियो।

तपाईको प्रतिक्रिया