एएफसी महिला च्याम्पियन्स लिगमा एपीएफको भिडन्त साउदीको अल–नासरसँग


काठमाडौँ । राष्ट्रिय महिला लिगको च्याम्पियन नेपाली विभागीय टोली एपीएफ क्लबले एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणमा साउदी अरेबियाको अल–नासर क्लबसँग प्रतिस्पर्धा गर्ने भएको छ।

एसियाली फुटबल महासंघ (एएफसी)ले बिहीबार सार्वजनिक गरेको ड्रअनुसार एपीएफ समूह ‘बी’मा परेको छ, जहाँ साउदीको अल–नासरसँगै थाइल्यान्डको कलेज अफ एसियन स्कलर्स र उज्वेकिस्तानको पीएफसी नासफ पनि समावेश छन्। समूह ‘बी’का सबै खेल उज्वेकिस्तानमा आयोजना हुनेछन्।

प्रतियोगिताको प्रारम्भिक चरणमा कुल १९ टोली सहभागी हुनेछन्, जसलाई पाँच समूह (ए, बी, सी, डी, र ई) मा विभाजन गरिएको छ। समूह ‘ई’मा भने तीन टोलीमात्र समावेश गरिएको छ।

समूह चरणमा प्रवेश गर्न प्रत्येक समूहको शीर्ष स्थान हासिल गर्नुपर्नेछ। एएफसीका अनुसार प्रारम्भिक चरणका खेलहरू आगामी अगस्ट २३ देखि ३१ तारिखसम्म सञ्चालन हुनेछन्।

तपाईको प्रतिक्रिया