युइएफए नेशन्स लिगको उपाधि पोर्चुगललाई, पेनाल्टी सुटआउटमा स्पेन पराजित

काठमाडौं — युइएफए नेशन्स लिग फुटबलको उपाधि पोर्चुगलले जितेको छ। आइतबार म्युनिखमा भएको फाइनल खेलमा पोर्चुगलले स्पेनलाई पेनाल्टी सुटआउटमा ५-३ को अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो।

निर्धारित ९० मिनेटको खेल २–२ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा प्रवेश गर्यो। ३० मिनेटको अतिरिक्त समयमा पनि कुनै गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटमार्फत गरियो।

खेलको २१औं मिनेटमा स्पेनका मार्टिन जुबिमेन्दीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर पाँच मिनेटमै पोर्चुगलका नुनो मेन्डिसले बराबरी गोल फर्काए। पहिलो हाफको अन्त्यतिर, ४५औं मिनेटमा मिकेल ओयार्जाबाले गोल गर्दै स्पेनलाई पुनः २–१ को अग्रता दिलाए।

दोस्रो हाफको ६१औं मिनेटमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याए। यो गोल नुनो मेन्डिसको क्रसबाट भएको थियो।

यस जितसँगै पोर्चुगलले दोस्रो पटक युइएफए नेशन्स लिगको उपाधि कब्जा गरेको छ। यसअघि २०१९ मा पनि पोर्चुगलले यो उपाधि जितेको थियो।

तपाईको प्रतिक्रिया