जोर्डन र उज्बेकिस्तान पहिलोपटक फिफा विश्वकपमा छनोट

काठमाडौं। एसियाका दुई मुलुक जोर्डन र उज्बेकिस्तानले पहिलोपटक फिफा विश्वकपमा स्थान बनाएका छन्। बिहीबार सम्पन्न खेलमा विजयी हुँदै यी दुई टोलीले विश्वकपको टिकट सुनिश्चित गरेका हुन्। साथै, दक्षिण कोरियाले पनि आगामी विश्वकपमा आफ्नो स्थान पक्का गरेको छ।

बिहीबारको खेलमा जोर्डनले ओमानलाई ३–० ले हराउँदै सहज जित हासिल गर्‍यो। उज्बेकिस्तानले युनाइटेड अरब इमिरेट्स (यूएई) सँग गोलरहित बराबरी खेल्दा, दक्षिण कोरियाले इराकलाई २–० ले पराजित गर्दै विश्वकप प्रवेश गरेको हो।

फिफा विश्वकपको इतिहासमा उज्बेकिस्तान ८१औँ र जोर्डन ८२औँ राष्ट्रको रूपमा छनोट भएका छन्। यससँगै आगामी वर्ष संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानडामा हुने प्रतियोगितामा छनोट हुने राष्ट्रहरूको संख्या १० पुगेको छ।

यी तीनबाहेक प्रतियोगिताका आयोजकहरू अमेरिका, मेक्सिको र क्यानडा, साथै साविक विजेता अर्जेन्टिना, जापान, न्युजिल्यान्ड र इरानले पनि विश्वकपको यात्रा सुनिश्चित गरिसकेका छन्।

तपाईको प्रतिक्रिया