३७ वर्षपछि हङकङविरुद्ध मैदानमा उत्रिंदै नेपाली फुटबल टोली

काठमाडौं: नेपाली राष्ट्रिय पुरुष फुटबल टोली ३७ वर्षपछि हङकङविरुद्ध खेल्न जाँदैछ। आगामी जुन ५ (जेठ २२) मा हङकङमा मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल हुने भएको हो, जसका लागि नेपाली टोली मंगलबार बिहान त्यसतर्फ प्रस्थान गर्दैछ।

खेलअघि सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले टोलीलाई बिदाइ गरेको छ। सोही अवसरमा प्रमुख प्रशिक्षक म्याट रसले हङकङसँगको मैत्रीपूर्ण खेल र एएफसी एसियन कप २०२७ छनोट अन्तर्गत लाओससँग हुने खेलका लागि अन्तिम टोलीको घोषणा गरेका थिए।

हङकङविरुद्धको खेलपछि नेपाली टोली लाओस प्रस्थान गर्नेछ। नेपालले लाओससँग जुन १० (जेठ २७) मा छनोटको दोस्रो खेल खेल्नेछ। यसअघि छनोटको पहिलो खेलमा नेपालले मलेसियासँग २–० ले हार व्यहोरेको थियो।

नेपाल र हङकङबीच सन् १९८८ मा पहिलोपटक औपचारिक प्रतिस्पर्धा भएको थियो, जुन खेल गोलरहित बराबरीमा टुंगिएको थियो। त्यसयता दुबै टोलीबीच कुनैपनि आधिकारिक खेल भएको थिएन।

यो खेल फिफा अन्तर्राष्ट्रिय विन्डोमा परेकाले फिफा मान्यताप्राप्त खेल हुनेछ। हाल फिफा वरीयतामा हङकङ १५३औं स्थानमा रहेको छ भने नेपाल १७५औं स्थानमा छ।

टोलीमा समावेश खेलाडीहरू:
अभिषेक लिम्बु, अनन्त तामाङ, अञ्जन बिष्ट, एरिक बिष्ट, आयुष घलान, बिमल पाण्डे, बिशाल सुनार (गोलरक्षक), दीप कार्की (गोलरक्षक), जिलेस्पीजंग कार्की, किरण चेम्जोङ (गोलरक्षक), कृतिश रत्न छुञ्जु, कुशल देउबा, लाकेन लिम्बु, मणिकुमार लामा, मनिष डाँगी, रोहित चन्द, रोहन कार्की, सनिश श्रेष्ठ, सृजन राज गौतम, सुमन श्रेष्ठ, सुमित श्रेष्ठ, सुभाष ठकुरी बम, योगेश गुरुङ।

तपाईको प्रतिक्रिया