२०औं एसियाली खेलकुदका लागि नेपालबाट ३० खेल दर्ता, समन्वय अभावमा मन्त्रालयप्रति असन्तुष्टि


काठमाडौं — आगामी सेप्टेम्बरमा जापानमा हुने २०औं एसियाली खेलकुदका लागि नेपाल ओलम्पिक कमिटी (एनओसी)ले ३० वटा खेल दर्ता भएको जनाएको छ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत कमिटीले असार १६ गतेसम्मको समयसीमाभित्र ३० खेलहरू दर्ता गरिएको जानकारी दिएको हो। एनओसीका महासचिव राजीव श्रेष्ठका अनुसार युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद (राखेप)लाई समयमै पत्राचार गरिए पनि कुनै प्रतिक्रिया प्राप्त नभएको छ।

श्रेष्ठले मन्त्रालयको समन्वय नहुँदा केही खेलहरू सिफारिस नभएकाले ती खेलहरूलाई दर्ता सूचीमा राख्न नसकिएको स्पष्ट पारे। यस विषयमा सरकारसँग थप छलफल आवश्यक रहेको उनको भनाइ छ।

त्यस्तै, अक्टोबर २२ देखि ३१ सम्म बहराइनमा आयोजना हुने तेस्रो युथ एसियन गेम्सका लागि पनि मन्त्रालयमा पत्राचार गरिएपनि हालसम्म कुनै प्रतिक्रिया आएको छैन।

ओलम्पिक कमिटीले मन्त्रालयलाई आरोप लगाउँदै एसियाली खेलकुदका लागि कुन खेलहरू समावेश गर्ने भन्ने विषयमा कुनै प्रकारको समन्वय नगरेको उल्लेख गरेको छ। कमिटीले जुलाई २१ (साउन ५) भित्र नेपाली टोलीको नामावली अन्तिम रूपमा बुझाउनुपर्ने समयसीमा रहेको जानकारी दिएको छ।

यसबीच, जीवनराम श्रेष्ठ तेस्रो कार्यकालका लागि अवैधानिक रूपमा कमिटीको अध्यक्ष बनेको भन्दै युवा तथा खेलकुद मन्त्रालयले ओलम्पिक कमिटीसँग सहकार्य नगर्ने अडान लिएको बुझिएको छ। यसले आगामी अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको सहभागितामा अन्योलता उत्पन्न हुने देखिएको छ।

तपाईको प्रतिक्रिया