सुगमको गोलमा एनआरटी विजयी, सातदोबाटो अझै अंकविहीन

काठमाडौं, – एन्फा यू–१६ युथ लिग अन्तर्गत न्युरोड टिम (एनआरटी) ले सातदोबाटो युथ क्लबमाथि संघर्षपूर्ण जित दर्ता गरेको छ।

मंगलबार एन्फा मुख्यालय, सातदोबाटोमा सम्पन्न खेलमा सुगम रानाले पहिलो हाफको अन्त्यतिर गरेको एक मात्र गोल नै निर्णायक सावित भयो। उनले खेलको ४४औँ मिनेटमा गोल गर्दै एनआरटीलाई अग्रता दिलाए र त्यही गोललाई जोगाउँदै टोलीले तीन महत्वपूर्ण अंक सुरक्षित गर्‍यो।

यो जितसँगै एनआरटीले लिगको अंकतालिकामा आफ्नो खाता १२ अंकमा पुर्‍याएको छ। टोलीले हालसम्म तीन खेलमा जित, तीन खेलमा बराबरी र पाँच खेलमा हार ब्यहोरेको छ। एनआरटीले अब १२औँ चरणमा मछिन्द्र क्लबसँग प्रतिस्पर्धा गर्नेछ। खेल साउन २३ गते, शुक्रबार बिहान १० बजे हुने तालिका छ।

अर्कोतर्फ, सातदोबाटो युथ क्लब भने लिगको ११औँ चरणसम्म आइपुग्दा पनि जित र अंक दुवैको खोजीमै छ। यसअघि उसले प्लानिङ ब्वाइज युनाइटेडसँग ४–०, मनाङ मर्स्याङ्दी क्लबसँग ६–०, श्री भगवती क्लबसँग ६–०, मछिन्द्र क्लबसँग १२–१, चर्च ब्वाइजसँग ९–२, नेपाल पुलिस क्लबसँग ८–०, संकटा क्लबसँग ५–१, त्रिभुवन आर्मी क्लबसँग ३–१, हिमालयन शेर्पासँग १–० र जावलाखेल युथ क्लबसँग ७–० को पराजय बेहोरेको थियो।

सातदोबाटोले अब १२औँ चरणको खेलमा पहिलो जितको खोजीमा फ्रेन्ड्स क्लबको सामना गर्नेछ। खेल साउन २२ गते, बिहीबार दिउँसो १ बजे हुनेछ।

तपाईको प्रतिक्रिया