साफ यू–२० महिला च्याम्पियनसिप : नेपाल आज भुटानसँग भिड्दै


काठमाडौं —नेपालले साफ यू–२० महिला च्याम्पियनसिप २०८२ अन्तर्गत आज भुटानसँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार साँझ ६ः४५ बजे बंगलादेशको ढाकामा हुनेछ।

नेपाल यसअघि २०२३ को संस्करणमा उपविजेता बनेको थियो। यसपटकको प्रतियोगिता घाँसे मैदानमा हुँदैछ, जुन अघिल्लो संस्करणको आर्टिफिसियल ट्रफभन्दा सहज हुने प्रशिक्षक यम गुरुङले बताएका छन्। उनले प्रि-म्याच प्रेस कन्फ्रेन्समा भने, “यस पटक हामीले घाँसे मैदानमा खेल्न पाउँदैछौं। आर्टिफिसियल ट्रफभन्दा घाँसे मैदानमा खेल्न सहज हुन्छ।”

नेपालले सन् २०२३ मा लिग चरणको खेलमा भुटानलाई ४–० ले पराजित गरेको थियो। भुटान त्यस संस्करणमा तीनवटै खेलमा पराजित भएको थियो। नेपालले भने भुटान र भारतलाई हराउँदै सेमिफाइनल यात्रा तय गरेको थियो।

यो संस्करणमा भारत सहभागी छैन भने श्रीलंका नयाँ टोलीका रूपमा प्रतियोगितामा जोडिएको छ। प्रतियोगिता डबल राउन्ड रोबिन प्रणालीमा सञ्चालन हुनेछ।

उद्घाटन खेलमा आज दिउँसो २ः४५ बजे आयोजक बंगलादेश र श्रीलंका भिड्दै छन्। नेपालले दोस्रो खेल जुलाई १३ मा बंगलादेशविरुद्ध, तेस्रो र चौथो खेल जुलाई १५ र १७ मा श्रीलंकाविरुद्ध, पाँचौं खेल जुलाई १९ मा भुटानसँग र अन्तिम खेल जुलाई २१ मा बंगलादेशसँग खेल्नेछ।

प्रतियोगितामा सबै टिमहरूले एक–अर्कासँग दुईपटक खेल्नेछन् र सर्वाधिक अंक प्राप्त गर्ने टोलीले उपाधि जित्नेछ।

नेपाली टोली:
बिर्सना चौधरी (कप्तान), लीला जोशी, करुणा बुढाथोकी, सुजाता तामाङ, सरिता कुमारी नाथ, माया मास्के, सेमिहाङ्मा लिम्बु पन्धाक, सिम्रन राई, झुमा विश्वकर्मा, गङ्गा रोकाया, अनिशा राई, सीता रोकाया, कविता गुरुङ, सुशीला के.सी., अस्मिता गुरुङ, सेनु परियार, कुसुम खतिवडा, शुक्रिया मियाँ, मनिषा सेन, वर्षा ओली, पूर्णिमा राई, मीना देउवा र समीक्षा मगर।

तपाईको प्रतिक्रिया