सत्ता गठबन्धनले सरकार र शिक्षक महासङ्घसँग आजै सहमति हुने आशा व्यक्त गरे

सत्ता गठबन्धनले सरकार र शिक्षक महासङ्घसँग आजै सहमति हुने आशा व्यक्त गरेको छ।

बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न सत्ता गठबन्धनको बैठकपछि नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले सरकार र शिक्षकहरूको बीचमा आजै सहमति हुने विश्वास व्यक्त गरे।

उनले शिक्षकहरूसँगको वार्ता सकारात्मक रूपमा अघि बढेको उल्लेख गर्दै आजै दिनभरमा सरकार र आन्दोलनरत शिक्षकहरू बीच सहमति हुने बताए।

प्रदीप ज्ञवालीले नेपाल शिक्षक महासङ्घ र सरकार बीच भएको छलफलमा आधारित सहमति अनुसार, आजै समस्याको समाधान निकालिने र बिहीवारदेखि पठनपाठन सहज रूपमा सञ्चालन हुने विश्वास व्यक्त गरे।

“सरकारले कुनै छल गर्नु भएको होइन। शुरुदेखि नै सरकारले शिक्षकहरूलाई वार्तामा बोलाएको थियो। विभिन्न कारणले उनीहरू वार्तामा सहभागी हुन सक्नुभएको थिएन। निवर्तमान शिक्षामन्त्रीज्यूले पनि यस विषयमा धेरै प्रयास गर्नुभएको थियो। शिक्षकहरूले ऐन नलिई फर्किने अडान लिँदा केही ढिलाइ भएको हो,” उनले भने।

उनले बिहीवारदेखि देशभरका सामुदायिक विद्यालयका शिक्षकहरू विद्यालय फर्कने र पठनपाठनको काम सुचारु हुने आशा व्यक्त गरे।

तपाईको प्रतिक्रिया