संविधानविरोधी गतिविधिमा उत्रिए टुलुटुलु हेरेर बस्दैन सरकार : सञ्चार तथा सूचना प्रविधि मन्त्री गुरुङ

काठमाडौं : सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले राजावादी समूहलाई संविधानविपरीत गतिविधि दोहोरिए सरकार चुप लागेर नबस्ने चेतावनी दिएका छन्।

बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुरुङले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै भने, “सभा र अभिव्यक्तिको स्वतन्त्रता हामीले दिएका हौं, तर त्यसको दुरुपयोग गरेर संविधान उल्लङ्घन गर्ने काम भइरहे सरकारले कठोर कदम चाल्न पछि पर्नेछैन।”

उनले अहिलेको अवस्थामा राजावादी धारको गतिविधि बढ्दै गएको, संविधानविपरीतका कार्यक्रमहरू हुँदै गएका, र कतिपय ठाउँमा हिंसा, तोडफोड, आगजनीजस्ता कार्यमार्फत सरकारलाई चुनौती दिन खोजिएको बताए।

“राजावादी समूहमाथि प्रतिबन्ध लगाउने संवैधानिक अधिकार सरकारसँग भए पनि अहिलेसम्म संयम अपनाउँदै आएको हो,” मन्त्री गुरुङले भने, “तर यो सहनशीलतालाई कमजोरी ठान्न खोजियो भने अब सरकार कडा रूपमा प्रस्तुत हुनेछ।”

यसै सन्दर्भमा, उनले जेठ १५ गते राजतन्त्र अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको ऐतिहासिक दिन भएको उल्लेख गर्दै त्यस दिनलाई सरकारले विशेष रूपमा मनाउने तयारी गरिरहेको जानकारी दिए। उनले गणतन्त्र स्थापनामा योगदान दिएका सबै दलहरू अहिले पनि एकताबद्ध रूपमा गणतन्त्रको संरक्षण र सुदृढीकरणमा प्रतिबद्ध रहेको बताए।

तपाईको प्रतिक्रिया