संघर्षपूर्ण जितसहित मछिन्द्र क्लब दोस्रो स्थानमा उक्लियो


काठमाडौं — एन्फा यू–१६ युथ लिग अन्तर्गत आइतबार भएको प्रतिस्पर्धात्मक खेलमा हिमालयन शेर्पा क्लबलाई ३–२ ले पराजित गर्दै मछिन्द्र क्लब दोस्रो स्थानमा उक्लिएको छ। खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न भएको हो।

मछिन्द्रको जितमा करन धामी, साइरस डंगोल र गोविन्द विकले एक–एक गोल गरे। हिमालयनका लागि जेनील सुब्बा र योगेन खत्रीले गोल फर्काए। खेलको चौथो मिनेटमा करनले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका थिए, जुन साइरसले छैटौँ मिनेटमा दोब्बर बनाए।

५६औँ मिनेटमा हिमालयनका जेनीलले टोलीको पहिलो गोल फर्काउँदा खेल २–१ को अवस्थामा पुग्यो। तर, ७०औँ मिनेटमा गोविन्दले थप गोल गर्दै मछिन्द्रको अग्रता ३–१ बनाइदिए। अन्तिम इन्जुरी समयमा योगेन खत्रीले गोल गरे पनि त्यो टोलीलाई बराबरीमा फर्काउने पर्याप्त साबित भएन।

यो जितसँगै मछिन्द्रले १० खेलमा सात जित, दुई बराबरी र एक हारका साथ २३ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा स्थान बनाएको छ। मछिन्द्रले अब ११औँ खेल साउन २० गते (मंगलबार) जावलाखेल युथ क्लबविरुद्ध अपराह्न ४ बजे खेल्नेछ।

अर्कोतर्फ पराजित हिमालयन शेर्पा १४ अंकमै सीमित रह्यो। उसले आगामी मंगलबार नै बिहान १० बजे साविक विजेता चर्च ब्वाइज युनाइटेडसँग प्रतिस्पर्धा गर्ने तालिका छ।

तपाईको प्रतिक्रिया