“लोडसेडिङ भयो” भन्दै विदेशबाट राति फोन आउने गुनासो मन्त्री खड्काको, दुष्प्रचार नगर्न आग्रह

काठमाडौं — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विदेशमा रहेका केही व्यक्तिहरूले नेपालमा लोडसेडिङ भएको भन्दै बारम्बार फोन गरेर अनावश्यक तनाव दिने गरेको गुनासो गरेका छन्।

बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री खड्काले राति १२ बजेसम्म पनि “बत्ती गयो” भन्दै फोन आउने गरेको उल्लेख गरे। उनले यस्ता गुनासोहरू झुटा पाइएको दाबी गर्दै, यथार्थमा आधारित सूचनामात्र फैलाउन आग्रह गरे।

“विदेशबाट एउटै नम्बरबाट पटक–पटक फोन आउँछ, बत्ती गयो भन्छन्,” मन्त्री खड्काले भने, “तर त्यस स्थानमा बुझ्दा बत्ती गएकै हुँदैन। यस्तो दुष्प्रचार नगर्न सबैलाई आग्रह गर्दछु।”

उनले हाल लोडसेडिङ नभएको स्पष्ट पार्दै, उत्पादनमा केही कमी भए तापनि आवश्यकता अनुसार विद्युत् आपूर्ति भइरहेको जानकारी दिए। “कम उत्पादन भएको बेलामा विद्युत् आयात गरेर भए पनि आपूर्ति व्यवस्थापन गरिएको छ,” मन्त्री खड्काले बताए।

उनले देशको समृद्धिका लागि ऊर्जा, पर्यटन र कृषि तीन प्रमुख आधार हुन सक्ने धारणा पनि राखे।

तपाईको प्रतिक्रिया